अन्नपूर्ण आरोहण गर्ने टोलीलाई बिदाई

पोखरा, भदौ २५ :

अन्नपूर्ण पहिलो (८०९१ मि) र अन्नपूर्ण साउथ (७२१९ मि) हिमाल आरोहण गर्न आएको फ्रान्सेली सेनाको टोलीलाई शुक्रबार पोखरामा बिदाइ गरिएको छ । पोखरा पर्यटन परिषद् (पिटिसी) ले शुक्रबार एक कार्यक्रम गरि आरोहणका लागि आएको सैन्य टोलीलाइ विदाइ ग¥यो ।

पर्यटन व्यवसायीका अनुसार भूकम्प पछि अन्नपूर्ण हिमाल आरोहणका लागि आएको यो नै पहिलो बिदेशी टीम हो । सैनिक टीमको आरोहणले भूकम्प पछि ओरालो लागेको पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पिटिसीका अध्यक्ष सोमबहादुर थापाले बताए ।

भूकम्पले पूरै नेपाल ध्वस्त भएको भन्ने गलत सन्देश पुगेको बेला हिमाल आरोहण सुरक्षित छन् भन्ने देखाउने यो आरोहणले सघाउने उनले बताए । ‘भूकम्प गएपनि हिमाली क्षेत्र र हिमाल आरोहण सुरक्षित छ भन्ने सन्देश यो टोलीबाट प्रवाहित हुनेछ’ उनले भने ।

आरोहणका लागि आएको सेनाको ९ सदस्यीय टोली शनिबार अन्नपूर्ण आधारशिविर तर्फ प्रस्थान गर्नेछ । टोली आधारशिविरमा बसेर उपयुक्त मौसम हेरेर आरोहणमा लाग्नेछ । फ्रान्सेली सैन्य टोलीको नेतृत्व गरेका गाइड टेण्डी शेर्पाले अक्सिजन बिना नै अन्नपूर्ण आधारशिविर हुँदै प्रथम र साउथ आरोहण गर्ने बताए । ‘अक्सिजन, गाइड र भरिया केहि हुन्न । सैनिकहरु आफ्नै तरिकाले आरोहणमा जानेछन्’ उनले भने ।

बिना अक्सिजन कति उचाइसम्म पुग्न सकिन्छ भन्ने अभ्यास गर्नका लागि सैन्य टोली नेपाल आएको उनले बताए । करिब एकमहिना अवधिमा सैन्य टोलीले आरोहण पुरा गर्ने लक्ष्य राखेको छ । फ्रान्सले उपलब्ध गराउने मौसम हेरेर सैन्य टोलीले हिमालको आरोहण गर्नेछ । ‘भूकम्प पछि ओरालो लागेको नेपालको पर्यटन क्षेत्र उकास्ने यो नै गतिलो अवसर भएको उनले बताए । ‘भूकम्पले सबै क्षेत्र ध्वस्त भएको भन्ने गलत सन्देश गएको हो । सुरुमै सबैतिर नोक्सान नपुगेको भन्ने सन्देश दिन सकेको भए यस्तो अप्ठेरो पर्ने थिएन’ उनले भने ।

टीममा रहेका ९ जनामध्ये चारजनाले अन्नपूर्ण प्रथम र तीनजनाले अन्नपूर्ण साउथ आरोहण गर्नेछन् । टोलीको नेतृत्व गरेका मेजर र एक महिला चिकित्सक आधारशिविरमै रहनेछन् । शेर्पाका अनुसार आरोहि टीम केहिदिन अघि मुस्ताङको ६ हजार मिटर उचाइसम्म पुगेको थियो । हिमाल आरोहणको अभ्यास गर्दै अक्सिजन बिना रहन सक्ने र चढ्न सक्ने उचाइबारे अभ्यास गरेका थिए ।

फ्रान्स सरकारले सन् १९७६ मा उच्च हिमाली क्षेत्रमा बिना अक्सिजन आरोहण गर्न सक्ने क्षमतायुक्त सैन्यटीम तयार पारेको थियो । हिमाली क्षेत्रमा उद्धार र राहतमा खटाउनका लागि तयारी अवस्थामा राख्न फ्रान्स सरकारले दस्ता तयार पारेको थियो । त्यहि टोलीले ८ हजार मिटर माथिका विभिन्न हिमालको आरोहण गर्नेछ ।

सैनिक टोलीको नेतृत्व गरेका मेजर जीन यिभ्स इगोनेन्सले हिमाली क्षेत्रमा बिना अक्सिजन उद्धार गर्नुपर्ने अवस्था आउने भएकोले तयारि गरेको बताए । ‘मौसमले साथ दिए आरोहण पुरा हुनेछ’ उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button