उच्चस्तरीय ढङ्गबाट नेपालको जारी समस्या समाधानको पहल – भट्टराइ

पोखरा, २९ मंसीर –

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको जारी समस्या समाधानका लागि एमाले नेतृत्वको सरकार उच्चस्तरीय ढङ्गबाट लागिपरेको बताउनुभएको छ।

प्रेस चौतारी नेपाल, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले समस्याको समाधानका लागि जारी प्रयत्न सकारात्मक रुपमा बढेको बताउनुभयो ।

नेपालमा संविधान घोषणा पछिको नाकाबन्दीले स्कुलहरू बन्द, अस्पतालमा सङ्कट, उद्योग व्यवसाय धरासायी भएको उल्लेख गर्दै उहाँले नाकाबन्दीले भूकम्प पछिको भन्दा पनि बढी क्षति भएका अवस्थामा नेपाली जनताले दृढताका साथ गरेको सामना सम्मान योग्य भएको बताउनुभयो ।

“मधेशमा संविधानका सम्बन्धमा भ्रम छरिएको छ,” उहाँले भन्नुभयो,“मधेशी सर्वसाधारणको सोझोपनलाई त्यहाँ लामो समयदेखि सत्ताको हालीमुहाली गरेका ठालुहरूले आफ्नो सत्ताको पुनःस्थापनाका लागि मधेश विद्रोहमा उपयोग गरेका छन् । त्यहाँ ठालु र सर्वसाधारणलाई छुट्याउनु आवश्यक छ ।”

समस्याको समाधान गर्ने सम्बन्धमा सरकारले संविधान संशोधनको विधेयक अघि बढाउन लागेको उल्लेख गर्दै उहाँले देशको आन्तरिक समस्या समाधान गर्न नेपालीहरू आँफै सक्षम भएको बताउनुभयो ।

सिमाङ्कन अहिले नै हेरफेर नहुने चर्चा गर्दै उहाँले यसको विषयलाई निष्कर्षमा पुरयाउन संवैधानिक रुपमा नै व्यवस्था गरिएको संघीय आयोगमा जानुपर्ने वा राजनीतिक तहबाट समाधानका लागि संसदीय वा राजनीतिक समिति बनाउने कुरामा आन्दोलनरत दल सहमत हुनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसले संसदमा गरेको अवरोध असान्दर्भिक भएको बताउँदै सचिव भट्टराईले मधेशी मोर्चा पनि पुनः निर्माण प्राधिकरण विधेयक पास गर्नं सहमत भएका अवस्थामा संसद खुलाउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उत्तर तर्फका नाका खोल्न प्रयत्न भैरहेको बताउँदै उहाँले चिनसँग प्रेट्रोलियम पदार्थको व्यापार गर्ने सम्झौता हालसम्म नभएको र त्यो सम्झौता अर्को हप्तामा हुने बताउनुभयो ।

एमाले नेतृत्वको सरकारले गलत नगरेको र सही काम गर्न निरन्तर प्रयत्नरत रहेको उहाँको भनाइ छ ।

कार्यक्रम प्रेस चौतारि कासकीका कार्यबहाक अध्यक्ष रामजी लम्साल को अध्यक्षतामा भयको थियो भने स्वागत गौरब त्रिपाठी र संचालन कोसाद्यक्ष राजाराम पौडेल ले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button