क्वोइ च्हों देवी फुटवल प्रतियोगिता सुरु

पोखरा, ३ माघ –

लमजुङको पर्यटकीय गाउँ गिलुङमा आइतबारदेखि क्वोइ च्हों देवी रनिङ शिल्ड फुटवल प्रतियोगिता सुरु भएको छ । मिलन युवा क्लवले गिलुङको चिसापानीमा आयोजना गरेको प्रतियोगितामा लमजुङ र कास्कीका २२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको इलाका प्रहरी कार्यालय, गिलुङका प्रमुख नवराज भट्टराई र क्लवमा पूर्व खेलाडी ज्ञानसिंह गुरुङले संयुक्त रुपमा उद्घाटन गरे । आइतबार तीन खेल सम्पन्न भएको क्लवका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उद्घाटन खेलमा आयोजक रातोले डिफेन्डिङ च्याम्पियन रामबजार युथ क्लव, लमजुङलाई टाईब्रेकरमा ५–३ गोलअन्तरले हराएको छ । शिसुवा फुटवल क्लव, कास्की र सप्तकन्या युथ क्लव, छापा, लमजुङबीच सम्पन्न दोश्रो खेलमा सप्तकन्या युथ क्लवले शुन्यका विरुद्द ४ गोल गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको तेश्रो खेल सुर्योदय निमावी, घाम्राङ, लमजुङ र माटेपानी युनाईटेड पोखराबीच सम्पन्न भएको थियो । उक्त खेलमा माटेपानी युनाईटेडलाई १ का विरुद्द ३ गोलले हराउँदै सुर्योदय निमावि दोश्रो चरणमा प्रवेश गरयो । लमजुङको करापुस्थित चौतारी युवा क्लव समयमै उपस्थित नभएपछि अण्डर सिक्सटिन, गिलुङ स्वतः दोश्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक रातोका कन्या गुरुङ, दोश्रो खेलमा शिसुवा फुटवल क्लवका निकेश श्रेष्ठ र तेश्रो खेलमा माटेपानी युनाईटेड पोखराका टेकेन्द्र गुरुङ म्यान अफ दी म्याच घोषित भए । सोमबारको पहिलो खेल मितेरी युवा क्लव, घाम्राङ र सेभेन स्टार युवा क्वल, नाल्माबीच हुने आयोजक क्लवका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

क्लवले गिलुङको चिसापानीमास्थित बुद्धोदय उच्च माविको ४१ औं बार्षिकोत्सवका अवसरमा प्रतियोगिताको आयोजना गर्दै आएको हो । पुरुष फुटवलतर्फ प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला फुटवल प्रतियोगितातर्फ प्रथम हुने टिमलाई नगद १५ हजार रुपैयाँ र द्वितीय हुने टिमलाई नगद ७ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

२०४२ सालमा स्थापित मिलन युवा क्लवले २०५४ सालदेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवले यहि वर्षदेखि महिला फुटवल प्रतियोगिता पनि समावेश गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक गिलुङ समाज, यूके रहेको छ । प्रतियोगिताका अन्य प्रायोजकहरुमा गिलुङ समाज, हङकङ, गिलुङ गाउँ सुधार सहयोग समिति, पोखरा र गिलुङ गाविस कार्यालय रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button