चार दिने पर्यटन तथा होटल व्यवस्थापन तालिम सुरु

पोखरा, २६ मंसिर –

 पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा चार दिने पर्यटन तथा होटल व्यवस्थापन तालिम शनिबारबाट पोखरामा सुरु भएको छ ।

p1

नेदरल्याण्ड स्थित पुम नामक विज्ञहरुको संस्थाको सहकार्यमा सुरु भएको तालिममा पोखरा स्थित विभिन्न होटलका संचालक, व्यवस्थाक एवं कर्मचारी गरी ४० जनाको सहभागिता रहेको छ । नेपाल पर्यटन वोर्डले कार्यक्रमलाई सघाएको छ । तालिम मंगलबार सम्पन्न हुने छ । होटल संचालक एवं उनीहरुका व्यवस्थापकहरुको दक्षता अभिवृद्धि गर्दै विश्व वजारसँग प्रतिस्पर्धा गर्न सक्ने खालको पर्यटकीय सेवा प्रदान गर्ने उद्धेश्यले तालिम संचालन गरिएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

p2

तालिमको उद्घाटन गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माले कानूनको परिधिभित्र रही सबै व्यवसायीले कर तिर्नेमा आफू आसावादी भएको बताए । होटल तथा पर्यटन क्षेत्रले अहिले भोग्नुपरेको अफ्ठ्यारो अवस्थाप्रति आफू जानकार रहेको स्मरण गराउँदै उनले व्यवसाय गरेर कर तिरेपछि व्यवसायीको मनमा पनि शान्ति हुने भनाई राखे । कर नतिरेको सम्पत्तिले मनमा कहिलेई शान्ति नदिने बताउँदै उनले कर सम्बन्धि आबश्यक तालिम तथा जानकारीहरु प्रदान गर्न आफ्नो कार्यालय सधैं तयार रहेको बताए । विलविजक तथा कर सम्बन्धि रेकर्डहरु अध्याबधिक राख्न पनि उनले व्यवसायीसँग आग्रह गरे । युरोपेली तथा अमेरिकी देशहरुमा कर लिनेदिने प्रणाली धेरै आधुनिक खालको भएको पनि उनले सुनाए ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष पराजुलीले कर तिर्न होटल व्यवसायीहरु सधैं तयार रहेको र तिर्दै पनि आएको जानकारी गराउँदै कर लिने तर दिनुपर्ने सुविधा नदिएर राज्य पन्छिन नमिल्ने बताए । पानी, विजुली, बाटो, इन्धन जस्ता अत्याबश्यक सेवासुविधा दिन सरकार चुकेको तर कर उठाउन मात्र जोड गर्दा समस्या निम्तेको भनाई अध्यक्ष पराजुलीको थियो । कर कार्यालयसँग सहकार्य गरेर नै व्यवसायीहरु अगाडि बढ्न तयार रहेको तर व्यवसायीलाई हेर्ने दृष्टिकोणमा कर कार्यालयले सुधार ल्याउन जरुरी भएको पराजुलीले बताए । भुकम्प र नाकाबन्दीका कारण पर्यटन क्षेत्र थला परेको बताउँदै उनले अहिलेको गाह्रो अवस्थामा आसावादी भएर अगाडि बढ्न व्यवसायी साथीहरुसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष रमेशवहादुर भट्टराईले जारी नाकाबन्दीका कारण अर्थतन्त्रनै धरासायी बन्ने अवस्थामा पुगेको बताए । उनले पर्यटन क्षेत्र अहिलेको अवस्थामा सबैभन्दा मारमा परेको भनाई राखे । संघका पूर्व अध्यक्ष सुन्दरकुमार श्रेष्ठले नेपाली पर्यटनले सेवा दिंदा आफ्नो पन पस्कन सक्नुपर्ने बताउँदै अधिकांश व्यवसायीहरुको जोड यसैमा रहेको बताए । पर्यटन क्षेत्रले नेपाली पन पस्केर संस्कृति संरक्षण गरेको दाबी समेत श्रेष्ठले गरे ।

संघका अर्का पूर्व अध्यक्ष गोविन्दराज पहारीले ग्याँस, दाउरा, विजुली र इन्धन खोज्दैमा नेपालीको दिनचर्या वितेको बताउँदै यो दुर्भाग्यको अन्त्य हुनुपर्ने भनाई राखे । होटल क्षेत्रका लागि बैंकको व्याज दरमा सहुलियतप्रदान गर्दै पर्यटन क्षेत्रलाई सिक इन्डष्ट्रिको रुपमा घोषणा गरी सोही अनुसार सहुलियत दिनुपर्ने भनाई पनि पहारीले राखे । तालिमका संयोजक एवं संघका द्वितीय उपाध्यक्ष लक्ष्मण सुवेदीले तालिमले व्यवसायी साथीहरुलाई धेरै कुराहरु सिक्ने अवसर प्रदान गर्ने बताए । नेदरल्याण्डबाट आएकी प्रशिक्षक एनी मिटेरडोरफरले तालिममा होटल व्यवस्थापन, अतिथि सत्कार, पर्यटनको ट्रेण्ड, ग्राहक सेवा, वजारिकरण र गुनासाहरु सुन्ने तरिकाबारे सिकाइने जानकारी दिइन् । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button