चितुवा आतङ्क

भक्तपुर, १७ जेठ –

नगरकोट नगरपालिका–४ सुडाल बुढाथोकी टोलको बाँसको झ्याङमा एक सातादेखि चार बच्चा लिएर आएको चितुवाले बासस्थान बनाएर बसेपछि यहाँका बासिन्दा आतङ्कित भएका छन् ।

चितुवा आएपछि साँझ, बिहान घर बाहिर निस्कन समेत नसकिएको र बाहिर काममा जानेहरु समेत घरमा उज्यालामै आउनुपरेको स्थानीय बासिन्दा एवम् सुँडालस्थित महेन्द्रग्राम उमावि व्यवस्थापन समितिका अध्यक्ष राजु सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक सातादेखि चितुवाले सिङ्गो गाउँका बासिन्दालाई आतङ्कित पारेको छ, विद्यालय आउने जाने बाटोकै बाँसको झ्याङमा चितुवाले बास बनाएर बसेकाले विद्यार्थीलाई विद्यालय आउन समेत समस्या परेको छ ।” चितुवा आतङ्कले विद्यार्थीको पढाइ समेत प्रभावित भएको र खेतमा काम गर्नका लागि जान डर भएको उहाँले बताउनुभयो ।

जिल्ला वन कार्यालयलाई चितुवा समाएर लैजान पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको स्थानीय बासिन्दा एवम् नेकपा९एमाले०का केन्द्रीय सदस्य सोम मिश्रले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितुवाले गाउँ आतङ्कित पारेको छ, कुन दिन मानिसलाई आक्रमण गर्ला भन्ने डर सबैमा छ तर वन कार्यालयले बेवास्ता गर्दा थप समस्या आएको छ ।”

नगरकोट नगरपालिकाकै ताथलीस्थित सौडोलको गिरीटोल जाने कँडेलापाखो सामुदायिक वनमा पनि चिुतवा आएर बसेपछि स्थानीयवासी आतङ्कित छन् ।” सामुदायिक वनका बीचमा गाउँ जाने बाटो भएकाले साँझ परेपछि गाउँ जान निकै समस्या परेको बताउनुभयो । यता चाँगुनारायण नगरपालिकाको दुवाकोटस्थित सरस्वतीखेलमा पनि बाँसको झाङमा चितुवा आएपछि गाउँ नै आतङ्कित भएको छ । गाउँमा एक सातादेखि चितुवा आएर राति घर घरमा कुकुर मार्न थालेपछि बासिन्दाहरु साँझ बिहान घरबाहिर निस्कन छाडेको स्थानीयवासी विकास थापाले जानकारी दिनुभयो ।

जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले सुँडाल, सरस्वतीखेत लगायत क्षेत्रमा चितुवा आएको जानकारी पाएको बताउँदै चितुवाले अहिलेसम्म मानिसलाई आक्रमण नगरेको र दिउँसो बस्तीभित्र नपसेकाले समाउन आवश्यक नरहेको जानकारी दिनुभयो । बासस्थान बनाएर बसेको चितुवा केही समयपछि आफैँ जङ्गल फर्कने उहाँको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button