चीन सरकारद्वारा आफ्ना नागरिकलाई नेपाल घुम्न सुरक्षित रहेको सूचना

पोखरा, ११ पौष –

नेपाल र चीन विच हालै भएको आठ बुँदे सम्झौता अन्तर्गत पर्यटन क्षेत्रलाई दुरगामी असर पार्ने खालका बुँदा पनि समेटिएकोमा पश्चिमाञ्चल होटल संघ पोखराले खुसि प्रकट गर्दै उक्त सम्झौताको स्वागत गरेको छ ।

नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनिया विदेशमन्त्री वाङ यीविच शुक्रबार बेइजिङमा भएको सम्झौतामा चिनिया पर्यटकलाई नेपाल घुम्न लगाइएको बन्देज (ट्राभल एडभाइजरी) हटाउने कुरा सकारात्मक भएको संघले जनाएको छ । यसैगरी चिनिया पर्यटकलाई नेपाल घुम्न निशुल्क यात्रा अनुमति (भिषा) प्रदान गर्ने बुँदा पनि निकै महत्वपूर्ण र राम्रो भएको संघले जनाएको छ ।

सम्झौतामा यसप्रकारका बुँदा समेटिनु पर्यटनका हिसावले निकै महत्वपूर्ण भएको संघका अध्यक्ष भरतराज पराजुलीले शनिवार विज्ञप्ति जारी गरी जनाएका हुन् । यसैगरी विनासकारी भूकम्प पछि नेपाली पर्यटन पुनर्जागरणको चरणमा रहेको अवस्थामा दुई देश विच भएको यसप्रकारको सम्झौता पर्यटन विकासका लागि कोशे ढुंगा सावित हुने पनि अध्यक्ष पराजुलीले जनाएका छन् । चिनिया पर्यटकलाई लगाइएको भ्रमण बन्देज हटाइएको संघले चीन सरकारप्रति धन्यवाद प्रकट गरेको छ ।

दुई पक्षीय सहमतिमा चीन सरकारले आफ्नो कन्सुलर अफिसमार्फत आफ्ना नागरिकलाई नेपाल घुम्न सुरक्षित रहेको सूचना सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । वर्ष २०१६ भरी नेपाल भ्रमण गर्ने चिनियाँ नागरिकलाई भीसा शुल्क नलाग्ने घोषणा परराष्ट्र मन्त्रीले गरेका छन् । गत बैशाखमा गएको विनासकारी भूकम्पपछि चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न अनुमति दिएको थिएन । पर्यटक मात्र नभएर नेपालमा कार्यरत कतिपय चिनियाँ परियोजनाका चिनियाँ कर्मचारीलाई समेत नेपाल जान दिइएको थिएन ।

पछिल्ला वर्षहरुमा नेपाल र खासगरी पोखरा भ्रमणमा आउने चिनिया पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको थियो । तर भुकम्पले यो प्रक्रियामा अवरोध पुर्याए पनि चिनिया पर्यटकलाई निशुल्क भिषाको प्रावधान निकै महत्वपूर्ण निर्णय भएको संघले जनाएको छ । एक अर्व ३० करोड हाराहारी जनसंख्या भएको उत्तरी छिमेकी चीनबाट धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन उक्त सम्झौताले प्रभावकारी भूमिका खेल्नेमा पनि संघले आसा व्यक्त गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button