पर्यटन दिवसमा विभिन्न कार्यक्रम गरिने

पोखरा, असोज ६ :
विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) योपटक फरक शैलीमा मनाइने भएको छ । पर्यटन दिवसका अवसरमा पोखरा भित्रिने विदेशी पाहुनाको स्वागतार्थ कार्यक्रम हुँदै आएपनि पर्यटन व्यवसायीले योपटक फरक र केहि नौला कार्यक्रम गरेर दिवस बनाउँदैछन् । भूकम्प पछि खस्किएको पर्यटन क्षेत्र उकास्नका लागि आकर्षक र सकारात्मक सन्देश फैलने गरि कार्यक्रम गर्न थालेको व्यवसायीको भनाइ छ । पोखरा पर्यटन पुनर्जागरण समिति (पिटिआरसी) मातहत रहेका विभिन्न व्यवसायिक संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर पर्यटन दिवसका अवसरमा गरिने कार्यक्रमबारे जानकारि दिएका थिए ।

पत्रकार सम्मेलनमा नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले चिरपरिचित फ्रेन्च फिल्म निर्देशक एरिक भ्याली र चिनियाँ नायक मिङयाङ जियाङ सहितको टोलीलाई पोखरा ल्आउनेछ । पोखराको पर्यटन प्रवद्र्धमा सघाउ पु¥याउने भन्दै पर्यटन व्यवसायीले चलचित्रका विश्वप्रख्यात निर्देशक भ्याली र चिनियाँ नायक जियाङलाई पोखरा ल्याउन लागेको हो । नाट्टाको केन्द्रीय अधिवेशनमा पाहुनाको रुपमा यी दुई फिल्मकर्मी नेपाल आउन लागेका हुन् । काठमाडौं आएको मौका पारेर नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघले दुवैजनालाई पोखरा आमन्त्रण गरेको अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

उनका अनुसार चिनियाँ नायक जियाङ आज पोखरा आउँदैछन् । उनीसँगै चिनियाँ संचारमाध्यमका पत्रकार, फोटोग्राफर, मेकअप आर्टिस्ट पनि पोखरा आउनेछन् । जियाङको समुहमा ११ जना चिनियाँ पोखरा आउन थालेको श्रेष्ठले बताए । अर्का फिल्मकर्मी निर्देशक भ्याली विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) का दिन पारेर पोखरा आउनेछन् । भ्याली एकरात पोखरा बस्नेछन् । दुवैजना फिल्मकर्मीलाई पोखराको आकाशमा सयर गराउनुका साथै पर्यटकीय गन्तव्य पनि घुमाइनेछ ।

त्यस्तै भूकम्प गएपनि साहसिक खेलकुदका गतिविधि यथावत चलिरहेको भन्ने जानकारी फैलाउन यहाँको आकाशमा ‘एयर फेस्टिवल’ गरिने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर ‘हिमालयन एयर फेस्टिवल गरुडा फन’ आयोजना गरिएको हो । नेपाल हवाई खेलकुद संस्था (एनएए) पोखराले असोज ९ र १० गते पोखराको आकाशमा फेस्टिवल गर्न थालेको कार्यबाहक अध्यक्ष सोबित बानियाँले जानकारि दिए । उनका अनुसार फेस्टिवलमा फ्रान्स, जर्मन, अमेरिका, वेलायत लगायतका मूलूकका ५० भन्दा बढि प्याराग्लाइडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ (प्यारामोटर)का पाइलटहरु सहभागि हुनेछन् । सहभागि पाइलटले रंगिविरंगी रुपमा ध्वजापताका सहित सराङ्कोट आकाशमा प्रदर्शन गर्ने उनले बताए । उक्त अवसरमा प्याराग्लाइडिङ पाइलटहरुले आकाशमा एक्रोव्याट गर्नेछन् ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले त्यहि अवसरमा एकदिने सडक महोत्सव आयोजना गर्ने अध्यक्ष गोपिबहादुर भट्टराइले बताए । बाराहीचोकदेखि अम्बोटसम्मको दुरीमा सडक महोत्सव गरिने उनले बताए । रेबानले अघिल्लो वर्ष बाराहीचोकदेखि हल्लनचोकसम्म सडक महोत्सव गरेपनि यो पटक अम्बोटसम्म गरिने उनले बताए । महोत्सवमा सडकमै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खाना खान पाइनेछ । त्यस्तै राष्ट्रियस्तरका कलाकारको लाइभ प्रस्तुती पनि त्यहि अवसरमा हेर्न पाइने उनले बताए ।

उनका अनुसार पञ्चेबाजा सहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । लाखेनाँच विभिन्न वृत्तचित्रको प्रदर्शनी र हस्तकला सामग्रीको प्रदर्शन पनि हुने उनले बताए । ‘एकदिने सडक महोत्सव भएपनि यसले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ’ उनले भने, ‘पोखरामा यतिबेला पाहुना कम भएकोले उनीहरुलाई आकर्षण गर्न यो महोत्सव सफल हुनेछ ।’पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीका अनुसार चिनियाँ संचारकर्मीको समुहलाई यतिबेला पोखरा भित्रयाईएको छ । चिनियाँ संचारकर्मीमार्फत पोखराको बारेमा सकारात्मक सन्देश फैलाउने गरि अन्तरक्रिया कार्यक्रम गरिएको अध्यक्ष भरतराज पराजुलीले बताए ।

‘पर्यटन दिवसका अवसरमा पाहुनाको स्वागतार्थ कार्यक्रममा जुट्ने देखि व्यवस्थापनमा लागेका छौ । त्यस्तै दिवसकै दिन फेवातालको जलकुम्भी झार निकाल्ने कार्यक्रम पनि तय भएको छ’ उनले भने । त्यस्तै ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले पनि सोहिदिन लेकसाइडमा विभिन्न पदमार्गको बारेमा जानकारि दिनेगरि वृत्तचित्र प्रदर्शन गरिने अध्यक्ष रामचन्द्र शर्माले जानकारि दिए । उनका अनुसार पदमार्ग सुरक्षित रहेको भन्ने सन्देश दिलाउन वृत्तचित्र उपयोगी हुनेछ । त्यस्तै नेपाल माउन्टेनियरिङ एशोसिएसन (एनएमए) अन्नपूर्ण च्याप्टरले पनि पर्वतीय संग्रहालयमा कार्यक्रम गर्दैछ ।

पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष चिरञ्जिवि पोखरेलका अनुसार दिवसका दिन जहाज र पर्यटक बसबाट पोखरा भित्रिने पर्यटकका लागि पञ्चेबाजा सहितको स्वागत कार्यक्रम गरिनेछ । जहाज र बसबाट भित्रिने पहिलो विदेशी यात्रुलाई विभिन्न प्याकेजमा सहभागि गराउने पनि उनले बताए । पिटिसीले हरेक वर्ष दिवसका दिन विमानस्थल र बसपार्क पुगेर पर्यटकको स्वागत कार्यक्रम राख्दै आएको छ ।  पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी) संयोजक गणेशबहादुर भट्टराइले पर्यटन दिवसलाई विशेष र भिन्न शैलीमा मनाउने तयारी भएको बताए । भूकम्प पछि पोखराबारे फैलिएको गलत शन्देश चिर्न यो पटक दिवस नयाँ तरिकाले मनाउनुपरेको उनले बताए । ‘सधै एकैखालको गतिविधि मात्र होइन । यसपटक भिन्न शैलीमा दिवस मनाउँदैछौ’ उनले भने, ‘यसले पोखराबारे सकारात्मक सन्देश फैलाउन सघाउनेछ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button