भारतीय नाकावन्दीका विरुद्ध कविहरुको कडा आलोचना

पोखरा, १९ मंसिर-
भारतीय नाकावन्दीका विरुद्ध कविहरुले पोखराको भारतीय पेन्सन क्याम्प अगाडी कविता मार्फत आवाज उठाएका छन् । भारतले छिमेकीलाई गरेको परायाको व्यवहारले उसको नियत र हेपाहा प्रवृति देखाएको भन्दै कविहरुले कडा आलोचना गरेका छन् । अव स्वाधीनताको लडाईमा सबैजना उभिनुपर्ने बेला आएको भन्दै कविहरुले देश भित्रैको समस्या र भारतीय नाकावन्दी खुलाउन कुटनीतिक पहल गर्न सरकारले नसकेको पनि बताए ।

भारतीय हस्तक्षेपका विरुद्धमा भारतीय पेन्सन क्याम्प रामबजारको गेटमा भएको साहित्यिक अभियान ‘अक्षरयात्रा’ कविहरुले नाकावन्दी तथा देशको अवस्थाका विषयमा कविता वाचन गर्दै विरोध, चिन्ता र आक्रोस व्यक्र गरे । ‘जीवन र जगतको यर्थाथ बोधका लागि अक्षरयात्रा’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रा यसपटक भारतीय हस्तक्षेपका विरुद्ध भारतीय पेन्सन क्याम्पको गेटमा गरेको थियो ।

‘देशमा जवजव संकट पर्छ तबतब कविहरुले खेलेको भूमिका ठूलो छ’, आयोजक मध्यको नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले भने, ‘अहिलेको अवस्थामा पनि अव साहित्यकारहरु सडकमै उत्रुनुपर्ने बेला आएको छ ।’ कविहरुले नेपाली परनिर्भरताका कारण देशमा अहिले अभाव, महङ्गी र सास्ती खेप्नुपरेको भन्दै आत्मनिर्भर बन्न प्रोत्साहन हुने खालका नीति र वातावरण बनाउन सरकारलाई आग्रह गरे । ‘देशका विभिन्न ठाउँमा कवि, साहित्यकारहरुले सडकमै आएर भारतीय नाकावन्दी र देशको संकटका विषयमा आवाज उठाउन थालेका छन्,’ कवि रुपिन्द्र प्रभावीले भने, ‘पोखराबाट पनि यो सुरु भएको छ । देशैभरी कवि, साहित्यकारले अभियान चलाउनुपर्छ र देश भित्रै पनि बढ्दै गएको विभाजनलाई एकतामा सूत्रमा बाँध्न लाग्नुपर्ने बेला आएको छ ।’ भारतीय हेपाहा प्रवृत्तिका विरुद्ध नेपालले सम्झौता गर्न नहुने बरु वार-पारको लडाईँ लड्नुपर्ने कविहरुले आवाज उठाए ।

अहिलेको अवस्थामा सर्वसाधारणहरुको आवाजलाई कवि, साहित्यकारहरुले विभिन्न सिर्जनाहरु मार्फत उठाउँदै उनीहरुको मनोबल बृद्धि गर्न लाग्नुपर्ने बेला भएकाले भारतीय पेन्सन क्याम्पको गेटमा दवाव स्वरुप भारतीय हस्तक्षेप विरुद्ध ‘अक्षरयात्रा’ राखिएको गजल सन्ध्या पोखराका अध्यक्ष विर्सना बस्नेतले जानकारी दिईन् । भारतले अन्तराष्ट्रिय मान्यता विपरित नेपालमा नाकावन्दी गरेको भन्दै गिताञ्जली परिवारका अध्यक्ष शिवराज गौतमले नेपालमा आएर चर्चा कमाएर गएका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको अहिले विश्वभर आलोचना भैरहेको बताए ।

कवि दिलिप दोषी, इन्द्र राना प्रतिक, सरला लामिछाने ‘सरु’, सुरज उपाध्याय, केआर ढकाल, विष्णु बाँस्तोला, साधुराम लामिछाने, रिता लामिछाने, बालिका अभिलासी, मोहन भण्डारी, बलराम पूर्णविराम, अजय अनमोल, हरिमाया पराजुली लगायत दुई दर्जन बढी कवि, साहित्यकारले भारतीय हस्तक्षेप विरुद्ध विभिन्न रचनाहरु सुनाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button