‘माओवादी केन्द्र नयाँ हतियार’ बादल

पोखरा, १३ जेठ-

नेकपा माओवादी केन्द्र वरिष्ठ नेता रामबहादुर थापा बादलले नेकपा माओवादी देश र जनताको माग पुरा गर्ने नयाँ हतियार भएको टिप्पणी गरेका छन् । इतिहासको अपरिहार्य आवश्यकतालाई मध्येनजर गर्दै फुटेका माओवादीहरु एकीकृत भएर माओवादी केन्द्र नामक नयाँ पार्टी गठन भएको उनले बताए ।

कृष्ण सेन इच्छुकको १४ औँ स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संघ कास्कीले पोखरामा विहीबार आयोजना गरेको थमन महेस पत्रकारिता पुरस्कार वितरण समारोहमा बादलले यस्तो बताएका हुन् । एमाओवादी सहित नेकपा–माओवादी र फुटेका ससाना माओवाद धारका दलहरु मिलेर हालै माओवादी केन्द्र पार्टी गठन भएको हो ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाइ छाडेर एमाओवादीसँग एकताका पक्षमा उभिएका तत्कालिन महासचिव बादलले सहिदको सपना तथा देश र जनताका आकांक्षा पूरा गर्न सबै विभाजित माओवादी एकजुट हुनुपर्नेमा उनले जोड दिए । माओवादी धेरै टुक्रामा विभाजित हुँदा सहिदका सपना पूरा गर्न नसकिएको उनले बताए । वरिष्ठ नेता बादलले एकीकृत अभियानले पूर्णता नपाएसम्म यो अभियान जारी रहने बताए। उनले जनवादी आन्दोलनलाई पूर्णता दिने कार्यभार अब माओवादीकै काँधमा रहेको बताए ।

उनले राष्ट्रिय सहमति कायम गरेर आर्थिक समृद्धितर्फ अघि बढ्न सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने विचार व्यक्त गरे। नयाँ संविधानले जनतालाई अझै पनि पूर्ण अधिकार नदिएको भन्दै उनले नाकाबन्दी र भुकम्पले आर्थिक विकास, जनजीविकाका सवाल चौपट भएको उल्लेख गरे । राष्ट्रिय अखण्डता, मुलुकको सार्वभौमिकता अझै खतरामा रहेकोले यसतर्फ सचेत बन्नुपर्ने बताए ।

यसैबीच, क्रान्तिकारी पष्ककर संघ कास्कीद्वारा सञ्चालित रु. २५ हजार राशिको थमन–महेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोमा घिमिरे ‘रुचि’लाई प्रदान गरिएको छ । युद्धमा होमिएर एउटा खुट्टा अस्वस्थ रहेका पत्रकार घिमिरेलाई प्रमुख अतिथि थापाले दोसल्ला ओढाएर रकम र प्रशंसापत्रले सम्मान गरेका हुन् । लमजुङ्गको राईनास नगरपालिकामा जन्मिएकी घिमिरेले बिगत दश बर्षदेखि पत्रकारीता गर्दै आएकी छन । उनले आफु आबद्ध संस्थाप्रति आभार व्यक्त गर्दै जे सोचेर युद्ध गरिएको थियो त्यो नभएकाले यसतर्फ पार्टीका नेताहरुको ध्यानाकर्षण गराईन् ।

माओवादी युद्धकालमा तत्कालिन शाही सेनाले नियन्त्रणमा लिएर चरम यातनाका साथ हत्या गरिएका पत्रकार कृष्ण सेन ईच्छुकको स्मृति दिवसको दिनमा संघले चार वर्षअघिदेखि यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
संघका अध्यक्ष दीपक परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा रासस सञ्चालक समितिका पूर्व अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक कोमलनाथ बरालले स्व. थमन परियार र महेश दाहालको जीवनीमाथि प्रकाश पारेका थिए। सो अवसरमा पोउमनपा कार्यालयका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवाली, क्रान्तिकारी पत्रकार प्रदेश नं. ४ संयोजक त्रिभुवन पौडेल लगायतले बोलेका थिए ।  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button