राजनीतिक स्वामित्व नेपालीमै पुनःस्थापित गर्न खोज्दा नाकाबन्दी – पाण्डे

पोखरा, २६ मंसीर –
पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले नेपालको राष्ट्रिय राजनीतिको स्वामित्व नेपाली जनतामै पुनःस्थापित गर्न खोजेकै कारण भारतले नाकाबन्दी गरेको दाबी गर्नुभएको छ । यो प्रयास छोड्ने हो भने नाकाबन्दी तुरुन्त हट्ने दाबी गर्दै उहाँले तर यस्तो कदम घातक हुनेतर्फ सचेत हुन नेताहरुलाई आग्रह गर्नुभयो ।

रयाण्डम रिडर्स सोसाइटी अफ् नेपालले पोखरामा आयोजना गरेको आफ्नो आत्मकथाको कृति ‘कूटनीति र राजनीति’को परिचर्चा कार्यक्रममा शनिबार बोल्दै पाण्डेले यति बेला नेपालको राजनीति दोबाटोमा रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा अब दुई वटा बाटाहरु छन्, एउटा– प्राप्त राजनीतिक स्वामित्व जोगाउने र अर्को– सत्ताको लालचमा लागेर भारतकै शरण पर्ने ।’ दोस्रो बाटो छाने नेपालले फेरि एउटा ऊर्जाशील पुस्ता खेर फाल्नुपर्ने ठोकुवा पनि पाण्डेले गर्नुभयो ।

नेपाली जनतामा धैर्य गर्ने क्षमता अद्भूत रहेको भन्दै पाण्डेले तर त्यो राजनीतिक नेताहरुको वा सत्तासीन दलहरुको लोकप्रियताका कारण नभई मौलिक गुणकै कारण भएको जिकिर गर्नुभयो । आज मधेसमा देखिएको समस्या आउनुको मूल कारण नै स्थानीय निकायको निर्वाचन नहुनु भएको उहाँले बताउनुभयो । पाण्डेले भन्नुभयो, ‘यदि स्थानीय निकायको निर्वाचन भएको भए आफ्नो क्षेत्र र जिल्ला निर्माणमै नेताहरु लाग्ने थिए, यो खिचातानी आउने नै थिएन ।’ पञ्चायतकालीन समयदेखि हालसम्म पनि आफू नेपालको केन्द्रिय राजनीति र कूटनीतिमा रहेको स्विकार्दै उहाँले कुनै पनि राजनीतिक दलमा भने औपचारिक रुपमा नजाने र गए जीवनभर त्यसमै रहने बताउनुभयो ।

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा पाण्डेको कृति कूटनीति र राजनीतिको परिचर्चा गर्दै सोसाइटीको पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसीले पाण्डेले जीवनमा आर्जन गर्नुभएका ज्ञान र अनुभवको दस्तावेजका रुपमा कृति आएको बताउनुभयो । खास गरी कूटनीति र नेपालको राजनीति बुझ्न चाहनेका लागि यो कृति लाभदायी हुने बताउँदै केसीले भारत र नेपाल बिचको कूटनीतिक सम्बन्धका विषयमा चर्चा चलिरहेकाले पनि कृति सान्दर्भिक रहेको भनाइ राख्नुभयो ।

सचिव रुपिन्द्र प्रभावीको सञ्चालन र उपाध्यक्ष केशवशरण लामिछानेको स्वागतमा भएको कार्यक्रममा पुस्तक छनोट समितिका संयोजक सरस्वती प्रतीक्षाले आगामी पुस २५ गते शनिबार युवा लेखक युग पाठकले सल्मान रुस्दीको कृति ‘सर्टानिक भर्सेस’माथि परिचर्चा गर्नुहुने जानकारी दिनुभयो ।

कार्यक्रममा मदन भण्डारी, डा. लक्ष्मीशरण अधिकारी, महेन्द्र रिमाल, अजय अनमोल, कालिदास शर्मा, चक्रपणी सुवेदी, प्रा.डा. पशुपतिनाथ तिमल्सेना, प्रा. तारा बराल, सुन्दर गुरुङ, भूपनिधि पन्त, शिवप्रसाद गौतम, सुरेश रानाभाट, शेखर पराजुली, दिनेश लामिछाने, ज्ञानबहादुर कार्कीलगायतले टिप्पणी गर्नुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सदस्य सुरज उपाध्यायले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button