संविधान कार्यान्वयन गर्न अन्तराष्ट्रिय सम्मेलन

काठमाडौं, २२ जेठ –

संविधानसभाले जारी गरेको संविधानको कार्यान्वयन, छिमेकीसँगको सम्बन्ध सुधारका विषयमा असार ८ र ९ गते राजधानीमा सर्वपक्षीय सम्मेलन हुने भएको छ ।

नेकपा (एमाले)का पुराना नेता मोहनचन्द्र अधिकारीको संयोजकत्वमा सबै राजनीतिक दलका नेता सहभागी रहेको ‘मुक्ति मोर्चा नेपाल’ नामक संस्थाले सम्मेलनको आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयोे ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारी पनि सम्मेलनमा सहभागी हुनुहुनेछ । नेपालका प्रमुख दलका नेता, मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको पनि सम्मेलनमा सहभागिता रहने पूर्वसांसद रामजीवन सिंहले राससलाई जानकारी दिनुभयो ।

“बिपी चिन्तन प्रतिष्ठानको व्यवस्थापनमा हुने सम्मेलनमा नेपालमा जारी भएको संविधान कार्यान्वयन र त्यसको चुनौती र नेपाल–भारत सम्बन्ध सुधारका विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ”– उहाँले भन्नुभयो । अधिकारीले संविधान कार्यान्वयन नगरी नेपाललाई जोगाउन नसकिने भन्दै त्यसका लागि सबैसँग छलफल गरेर समस्याको समाधान खोज्न सम्मेलन गर्न लागिएको बताउनुभयो । “म कम्युनिष्ट पृष्ठभूमिबाट आए पनि हिन्दू हुँ, नेपाल पनि सनातन हिन्दूराष्ट्र भएकाले हिन्दू धर्मको पक्षमा र वर्गीय शोषण अन्त्यका लागि कम्युनिष्ट राजनीतिमा लागेको हुँ”– उहाँले भन्नुभयो ।

कार्यक्रममा संस्थाका महामन्त्री चक्रदेव जोशी, बिपी चिन्तन प्रतिष्ठानका महासचिव वीरेन्द्र पौडेललगायतले मुलुकको समस्या समाधान गर्न सम्मेलन आयोजना गर्न लागिएकोमा जोड दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button