सडक महोत्सवको दिन नजिकीदै जादा पोखराका होटलको बूकिंग बढ्दो – ३० प्रतिशतसम्म छुट

पोखरा, ०७ पौष –
यही पुष १३ गतेबाट पोखरामा संचालन हुन लागेको १७ औं संस्करणको सडक महोत्सवको दिन नजिकीदै जादा यहाँका पर्यटन व्यावसायीहरु तदारुपका साथ लागेका छन । अगेंजी नयाँ बर्षको अवसरमा आयोजना हुने सडक महोत्सवमा पोखरा क्षेत्रमा ठुलो आर्थिक कारोवार हुदै आएको छ भने विदेश तथा स्वदेशका विभिन्न ठाँउका पर्यटकहरु पोखरा आउनको लागि विभिन्न होटलहरुमा अग्रिम वुकिङ गर्न थालेका छन ।

यस बर्षको सुरुवातमै नेपालमा आएको विनाशकारी भूकम्प, भूकम्प पछि तराई मधेसमा जारी आन्दोलन र भारतले नेपाल माथि गरेको अघोषित नाकावन्दीको कारणले गर्दा पर्यटकहरु न्युन सङख्यामा आएको हुदा हाल पोखरा क्षेत्रको होटलको अकुपेन्सी १० प्रतिशत जसो मात्र रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए ।

पोखरा ग्राण्डमा हाल ५० प्रतिशत जसो होटलमा अकुपेन्सी भएको सेल्स म्यानेजर कमल शेरचनले बताए । उनले भने “सडक महोत्सव र अगेंजी नयाँ बर्षको अवसरमा आन्तरीक पर्यटकलाई पनि लक्षित गरी हामीले छिट्टै छुट सहितको प्याकेज ल्याउदैछौं ।” उक्त होटलमा ४ वटा सुइट रुम सहित एक सय ४० रुम रहेका छन भने १ सय ८० डलर देखि २ सय ५० डलर प्रति रुमको शुल्क रहेको छ । होटल एबीसीका संचालक हरी पहारीले हालसम्म जेनतेन होटल संचालन गरे पनि सडक महोत्सवमा करीब ५० प्रतिशतजसो अकुपेन्सी हुने बताए ।

होटल माउण्ट कैशालका संचालक नरेस भट्टराईले हालसम्म सडक महोत्सवलाई लक्षित गरेर ४० प्रतिशतजसो  अकुपेन्सी अग्रिम बुकिङ भएको बताए । हाल २० प्रतिशत जसो होटलमा अकुपेन्सी रहेको बताएका उनले आफ्नो होटलमा एउटा वेडको ५ हजार र डवल वेडको ६ हजार शुल्क लिने गरेको बताए । उक्त होटलमा ५१ रुम रहेका छन ।

संघका अध्यक्ष पराजुलीका अनुसार यही पुष १३ देखि पोखरामा सुरु हुने १७ औं सडक महोत्सवलाई लक्षित गरी आन्तरीक पर्यटकहरु सहित विदेशी पर्यटकले हालसम्म ३० प्रतिशत जसो होटलहरुमा अग्रिम बुकिङ गराएका छन । अगेेंजी नयाँ बर्षको अवसरमा यहाँका करीब ६० प्रतिशत जसो होटलहरु वुकिङ हुने संघले लक्ष्य लिएको पराजुलीले बताए । उनले भने “गत बर्षको यस सिजनमा हाम्रा होटलहरुमा करीब ५० प्रतिशत अकुपेन्सी हुन्थो भने सडक महोत्सवको अवसरमा ८० देखि ९० प्रतिशतसम्म होटलमा अकुपेन्सी हुने गर्थो, तर देशमा चर्केको राजनैतिक द्धन्दले पर्यटन क्षेत्रलाई नराम्ररी प्रभाव पार्यो ।” पाँच दिने सडक महोत्सवको अवसरमा होटलमा ३० प्रतिशतसम्म छुट दिईने भएको संघका अध्यक्ष पराजुलीले बताए । उनका अनुसार पोखराका होटलमा हाल १८ हजार पर्यटक स्तरीय वेड रहेका छन भने एक रातमा पर्यटकीय स्तरीय होटल सहित अन्य होटलमा गरेर ५० हजार पर्यटकलाई व्यबस्थापन गर्न सकिन्छ ।

त्यसै गरी देशको विसम परिस्थितीमा आयोजना हुने उक्त महोत्सवमा आन्तरीक पर्यटनलाई लक्षित गरी खानामा १५ प्रतिशतसम्म छुट दिने भएको रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । उनका अनुसार एकै दिनमा डेढ लाख देखि २ लाख सम्म पर्यटकलाई खाना खुवाउन सकिन्छ । खाना कपाउने ग्याँस स्थानीय प्रशासनले केहि मात्रमा उपलब्ध गराउने भए पछि दाउराको समेत जोहो गरेको अध्यक्ष भट्टराईले बताए । “सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं ” भन्ने मुल नाराका साथ अगेेंजी नयाँ बर्षको अवसरमा आयोजना हुने उक्त महोत्सवबाट ९० लाख आम्दानी र ७० लाख खर्च भई २० लाख रुपैया बचत गरी सामाजिक क्षेत्रमा खर्चिने भएको आर्थिक संयोजक योगेश भट्टराईले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button