समाजवादी जनता पार्टीकोे महाधिवेशन सुरु

काठमाडौँ, २२ जेठ –

समाजवादी जनता पार्टीको दोस्रो महाधिवेशन आजदेखि यहाँ सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन गर्दै पार्टीका अध्यक्ष एवम् खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि सहमति, सहकार्य र एकताको आवश्यकता भएको बताउनुभयो । “विगतमा ठूला समस्या सहमति, सहकार्य र एकताले नै समाधान भएकाले अब पनि यसको विकल्प छैन”–उहाँले भन्नुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले सरकारले महँगी बढाई जनताको ढाड सेक्ने बजेट ल्याएको आरोप लगाउनुभयो । “विसं २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन नगरे मुलुक गतिरोधमा जान्छ, सरकार गतिरोध नआउनेतर्फ सजग हुनुभन्दा पूरा हुन नसक्ने सपना बाँडेर प्रतिपक्षलाई नजरअन्दाज गरिरहेको छ”–उहाँले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले संविधानसभाबाट जारी भएको संविधान ठीकसँग कार्यान्वयन गर्न नसके देशले चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो । “संविधान कार्यान्वयन गर्न नसके राजनीतिक कोर्स नै बदलिन सक्ने भएकाले देशमा स्वतन्त्र धारको राजनीतिक प्रणाली स्थापना गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

नेकपा मालेका नेता डम्बर श्रेष्ठ, चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेलगायतले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिनुभयो । तीन दिनसम्म चल्ने महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button