कविता कन्सर्टमा रमाए पोखरेली

 पोखरा ११  असोज:

हरेक दिन संधै जसो केही न केही इभेन्ट भइरहने पोखरामा शनिबार पोखरेलीले फरक इभेन्ट मार्फत मनोरन्जन लिए । सांगितिक कन्र्सटमा रमाउने बानी परेका पोखरेली कविता कन्र्सटमा मज्जैले रमाए । पब्लिक इभेन्टको आयोजनामा भएको कार्यक्रममा कविता र संगीतको समिश्रणलाई दर्शकले निकै रुचाए । खचाखच दर्शकले भरिएको हलमा साँझ ५ बज्दा नबज्दै जब लक्ष्य समुहले मौलिक परम्परागत बाजामा धुन सुनाए, दर्शक मन्त्रमुग्ध बन्न पुगे । जब इभेन्ट संयोजक तथा कार्यक्रमका उद्घोषक सन्जय मल्लले कार्यक्रम शुरु भएको उदघोष गरे दर्शकहरु कवितामा कन्सर्टको कौतुहलतालाई मेटाउन आतुर देखिए ।

लक्ष्य ब्याण्डको संगीतमा कविका कविताहरु कार्यक्रमको मुख्य आकर्षण थिए । कविहरु ईश्वरमणी अधिकारी, सरस्वती प्रतिक्षा र श्रवण मुकारुङ एउटै मञ्चमा संगीतको मिश्रण संगै कविता सुनाएर पोखरेली दर्शकलाई कविताको नौलो स्वाद चखाए । कवि ईश्वरमणी अधिकारीले धरहरा चढ्ने सपना र भूकम्पपछिको धरहराको अवस्थाका विषयमा लेखिएको ‘धराहराको रहर’ प्रेमील कविता संगीतमा वाचन गरेपछि अन्त्य सम्मै दर्शकले नयाँनयाँ कविताको फरकफरक स्वाद लिए । कवि अधिकारीले ‘धरहराको रहर’सँगै ‘बा डराएको दिन’ ‘मित्र’, ‘समयको स्केच’ लगायत दुई कविता संगीतमा र दुई कविता विना संगीतमा वाचन गरे ।

कविता वाचनका लागि जब इभेन्ट संयोजक तथा कार्यक्रमका उद्घोषक सन्जय मल्लले पछिल्लो समयकी प्रखर कवि सरस्वती प्रतीक्षालाई मञ्चमा बोलाए अनि दर्शक दिर्घाको तालीले हल गुञ्जियो । उनले ‘किरिया बसेकी स्वास्नीमान्छे’ ‘पहेँलो’, ‘तथागत मलाई उत्खनन गर’ र ‘किनारा’ लगायतका कविता वाचन गरेर दर्शकदिर्घाको साथ पाइरहिन । कवि प्रतिक्षाले ब्याण्डको संगीतमा दुई कविता र बिना संगीतमा दुई कविता वाचन गरिन । कविताका बिचबिचमा समेत लक्ष्य ब्याण्डले स्थानीय बाजाको नयाँ संगीतको स्वाद प्रस्तुत गरेका थिए ।

 कार्यक्रमको अन्तिम कविका रुपमा मञ्चमा उक्लिएका कवि श्रवण मुकारुङले कार्यक्रमलाई सम्बोधन गर्दै कविता वाचनको सुरुमै आमालाई सम्झिए । उनले आफ्ना चर्चित कविता ‘भानुभक्त’ ‘भूपू गोर्खाको नाममा’ र उनलाई स्थापित बनाउन सघाएको कविता ‘बिसे नगर्चीको बयान’ कविता वाचन गर्दा दर्शकबाट वान्स मोर पाईरहे । लक्ष्य ब्याण्डको संगीतसँगै निर्धारित समय साँझ ५ बजे सुरु भएको कार्यक्रम व्याण्डको संगीतबाटै निर्धारित समय साँझ ७ बजे समापन भएको थियो ।

प्रमुख व्यक्तित्वका रुपमा उपस्थित कवि तीर्थ श्रेष्ठले पोखरामा भएको यस्तो खालको कार्यक्रमले कवि र कविताको सम्मानको संस्कृति बढाउने मात्र नभई पोखराकै उचाई र व्यवसायिकतामा पनि जोड दिने बताए । संधै नया र फरक कार्यक्रम दिन रुचाउने पब्लिक इभेन्टले यसअघि अघिल्लो बर्ष सारङ्गी र सुगम संगीत कार्यक्रम गरि लोकप्रियता हासिल गरेको थियो । मोफसलमा पहिलोपटक यस प्रकारको कार्यक्रम गरिएको भएपनि कार्यक्रम सफल भएको इभेन्ट संयोजक सन्जय मल्लले बताए । ‘यो नयाँ कार्यक्रम नभएपनि फरक किसिमको इभेन्ट गर्ने एउटा प्रयास हो’ मल्लले भने । कार्यक्रम संयोजक उपेन्द्र पौडेलले भने, ‘सधैं केही न केही फरक साहित्यिक कार्यक्रम भैरहने पोखरामा यो कार्यक्रमले साहित्यप्रेमीलाई पक्कै पनि फरकपनको अनुभूती गराउन सफल भएको छ । उनले कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button