इन्धनमा कालोबजारी भयोः पर्यटन व्यवसायी

पोखरा असोज २१:
इन्धन र ग्यासमा कालोबजारी भएको भन्दै पर्यटन व्यवसायीले प्रशासन समक्ष गुनासो पोखेका छन् । स्थानीय प्रशासनले इन्धन वितरणको जिम्मा दिएका केहि पेट्रोल पम्पले कालोबजारी गर्दै रातारात इन्धन बिक्रीवितरण गरेको व्यवसायीको गुनासो छ ।

पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी)का संयोजक गणेशबहादुर भट्टराइको संयोजकत्वमा पर्यटन व्यवसायी कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाइ भेट्न विहीबार प्रशासन पुगेका थिए । प्रजिअ राउत समक्ष पर्यटन व्यवसायीले केहि व्यवसायी र पेट्रोलपम्पले कालोबजारी गरेर इन्धन र ग्यास बेचेको गुनासो पोखेका थिए । मध्यरात पारेर सरकारी पेट्रोलपम्पले कालोबजारी गर्दै इन्धन बेचेर कालोबजारी गरेको व्यवसायीले आरोप लगाएका थिए ।

१४ सय पर्ने ग्यास सिलिन्डरलाई ६ हजार, एक लिटर पेट्रोललाइ ३ सय र एक लिटर डिजललाई २ सय रुपैयाँमा बेचेको पाएको प्रजिअ समक्ष संयोजक भट्टराइले जानकारि दिएका थिए । ‘हामीले प्रजिअलाई कालोबजारी गरेको बारेमा जानकारि गराएका थियौ । प्रशासनले कालोबजारी रोक्न सकेन भन्ने हाम्रो गुनासो हो’ उनले भने, ‘यसमा स्थानीय प्रशासन बढि सचेत हुनुपर्छ भनेर सुझाएका छौ ।’ महंगो शुल्क तिरे ग्यास र इन्धन पाउने नत्र नपाउने अवस्था रहेको भन्दै आफुहरुले प्रशासनसमक्ष कालोबजारी रोक्न अनुरोध गरेको भट्टराइले बताए ।
इन्धन र ग्यास अभावमा लेकसाइडमा रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेको व्यवसायीले प्रशासन समक्ष गुनासो पोखेका थिए । ‘अवस्था नाजुक भएको छ । पर्यटन क्षेत्र अस्तव्यस्त भएको बारे प्रशासनलाई जानकारि दियौ’ उनले भने, ‘प्रशासनले इन्धन आपूर्ति गर्न नसक्दा समस्या परेको जनाएको छ । राष्ट्रिय संकट परेको बेला कालोबजारी हुनु निकै दुखद हो ।’ कालोबजारी गर्नेलाइ कारवाहि गर्ने प्रशासनले आश्वासन दिएको संयोजक भट्टराइले बताए ।

इन्धन अभावमा पर्यटन क्षेत्र अस्तव्यस्त भएको व्यवसायीको भनाइ छ । पर्यटक सवार सवारीलाई इन्धन अभाव भएर मार परेको उनीहरुको भनाइ छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) का निवर्तमान अक्ष्यक्ष केदार शर्माले इन्धन अभावमा पर्यटन सवारी चलाउन नसकेको बताए । पोखरा–काठमाडौं–पोखरा रुटमा चलाउने पर्यटक बस समेत ठप्प हुने अवस्थामा पुगेको उनले बताए ।

पर्यटन क्षेत्रमा नकारात्मक असर नपारोस भन्ने हाम्रो चाहना हो । पर्यटकको आउजाउ रोकियो भने त्यसले नराम्रो सन्देश फैलिन्छ’ शर्माले भने,‘हामीले प्रशासनलाई जानकारि दिलाएका छौ । प्रशासनले केहि इन्धन दिएपनि त्यो प्रयाप्त छैन ।’ पर्यटकलाइ एकठाउँबाट अर्काे ठाउँमा जान समेत समस्या परेको भन्दै व्यवसायीले प्रशासनसमक्ष आपत्ति जनाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button