पर्यटकीय पैदलमार्गको निर्माणकार्य द्रुतगतिमा

पोखरा, ८ फागुन –

पोखराको जरेवरदेखि शुरु भई सराङ्कोट–कास्कीकोट–ढिकुरपोखरी–भदौरेतामागी–पञ्चासे हुँदै डेमसाइड जोडिने ७४ कि.मी. पर्यटकीय पैदल मार्गको निर्माणकार्य द्रुतगतिमा संचालन भइरहेको छ ।

गत वर्ष जि.वि.स. कास्कीको सहयोगमा सराङ्कोटबाट कास्कीकोटतर्फ ३ कि.मी. बाटो निर्माण गर्ने काम भएको थियो भने यस वर्ष ढिकुरपोखरीको नागडाँडाबाट कास्कीकोटतर्फको खण्डको निर्माण कार्य भइरहेको छ । उक्त खण्डको निर्माणको लागि नेपाल सरकार पर्यटन मन्त्रालयबाट सहयोग प्राप्त भएको हो । हालसम्म नागडाँडाबाट पूर्वतर्फ ४ कि.मी.बाटो निर्माण भइसकेको र काम निरन्तर चलिरहेकोले उक्त खण्ड छिट्टै सराङ्कोटसम्म जोडिने निर्माण समितिका अध्यक्ष विष्णुहरि शर्माले बताउनुभयो ।

यसै वर्षभित्रमा जरेबरदेखि नागडाँडासम्म पदयात्रुहरुलाई हिड्न मिल्ने गरी दुई मिटर चौडा ट्रयाक खोलिसकिने उहाँले जानकारी दिनुभयो । उक्त मार्गको निर्माणको लागि जरेवर–सराङ्कोट खण्डको कार्यको लागि पो.उ.म.न.पा. ले सहयोग गर्ने र त्यसको कार्य प्रारम्भ छिट्टै गरिने समेत अध्यक्ष शर्माले बताउनुभयो ।

उक्त मार्ग निर्माणको लागि नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय, पोखरा उपमहानगरपालिका, जिल्ला विकास समिति कास्की, ट्रेकिङ एशोसिएशन अफ नेपाल टान, गाउँ विकास समितिको कार्यालय कास्कीकोट र स्थानीय होटल व्यवसायीहरुको समेत सहयोग रहेको छ ।

advertisement

नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन विभागका निर्देशक गोविन्द बहादुर कार्की, पर्यटन कार्यालय पोखराका प्रमुख डोलराज ढकाल, इन्जिनियर विजय सुवेदी लगायत व्यक्तिहरुले उक्त पर्यटकीय पदमार्गको अनुगमन निरीक्षण गर्नुभएको थियो । उक्त अवसरमा विभागका निर्देशक कार्कीले पर्यटन मन्त्रालयको पैसा प्राकृतिक दृष्टिले अति रमणीय ठाउँमा लगानी भएको र यसले पर्यटन पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण सहयोग गर्न सक्ने बताउनुभयो ।

पर्यटन कार्यालय पोखराका प्रमुख डोलराज ढकालले यस पदमार्ग सम्पन्न गर्न सके यस क्षेत्रमा धेरै पर्यटकहरु भित्र्याउन सकिने बताउनुभयो । समितिका अध्यक्ष शर्माले पदमार्ग निर्माण कार्य सम्पन्न गर्न आफूहरु अहोरात्र लागिपरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

Close
Close
Close