अब पाँचै विकास क्षेत्रबाट प्रश्नपत्र परीक्षण गर्ने लोकसेवाको तयारी

काठमाडौँ, ६ साउन-

लोकसेवा आयोगले पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय निर्देशनालयबाट मेसिन (अप्टिकल मार्क रिकन्नेक्सन) बाट वस्तुगत प्रश्नको परीक्षण गर्ने तयारी थालेको छ ।

आयोगले यसै आवदेखि नै पाँचवटै निर्देशनालयका कार्यालयबाट मेसिनबाट वस्तुगत प्रश्न परीक्षण गरिने आयोगका सदस्य डा गोविन्दप्रसाद कुसुमले जानकारी दिनुभयो ।

नतिजा प्रकाशनलाई छिटो छरितो बनाउन आयोगले केन्द्रीय कार्यालयबाट तीन वर्षअघिदेखि वस्तुगत प्रश्नको मेसिनबाट परीक्षण गर्दै आइरहेको छ । आयोगले शाखा अधिकृत, सुब्बा, खरिदार, प्राविधिक सेवातर्फ सुब्बा र खरदार र स्वास्थ्यतर्फ चौथो र पाँचौँ तहको वस्तुगत प्रश्नको मेसिनबाट परीक्षण गर्ने गरेको छ ।

आयोगका उपसचिव सर्मुनलाल शाक्यका अनुसार मेसिनबाट वस्तुगत प्रश्नको परीक्षण गर्ने विधि सिकाउन निर्देशनालयका कर्मचारीलाई तालिम दिइएको छ ।

“दुई÷दुई जनाको दरले पाँचवटै क्षेत्रीय निर्देशनालयका कर्मचारीलाई पहिलो चरणको अभिमुखीकरण तालिम दिइसकेका छौँ,” उहाँले भन्नुभयो– “अब निर्देशनालयमा गएर फेरि सिकाउँछाँै । अनि उहाँहरु सक्षम हुनुहुनेछ ।”

उपसचिव शाक्यका अनुसार आयोगले निर्देशनालयका कार्यालयमा वस्तुगत प्रश्नको परीक्षण गर्न एक÷एक वटा मेसिन पठाउने तयारी गरेको छ ।

“हामी चाँडै नै प्रत्येक क्षेत्रीय निर्देशनालयका कार्यालयमा एक÷एक वटा मेसिन पठाउन तयारीमा छौ ,” उहाँले भन्नुभयो– “मेसिन भएपछि त्यहाँ लिइएको परीक्षाको उत्तरपुस्तिका त्यही परीक्षण हुन्छ जसले गर्दा नतिजा प्रकाशनमा छिटो गर्न सहयोग पुग्छ ।”

अहिले क्षेत्रीय निर्देशालय कार्यालयले परीक्षा लिए पनि सबै वस्तुगत प्रश्नपत्रको परीक्षण केन्द्रीय कार्यालयमा रहेका मेसिनबाट गर्ने गरिएको छ ।

अहिले आयोगसँग आठ वटा वस्तुगत प्रश्नपत्र परीक्षण गर्ने मेसिन रहेका छन् ।

यसैगरी, आयोगले मिश्रित प्रश्नपत्र पनि मेसिनले परीक्षण गर्ने तयारी गरेको उपसचिव शाक्यले जानकारी दिनुभयो । “वस्तुगत प्रश्नसँगै विषयगत प्रश्न एउटै पत्रमा आएकामा पनि हामीले वस्तुगत प्रश्नको मेसिनबाट परीक्षण गर्ने तयारी गरिरहेका छौँ” – उहाँले भन्नुभयो ।

मेसिनले एक घन्टामा ८०० प्रश्नपत्र परीक्षण गर्ने गरेको शाक्यले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button