पोखरामा नेवारी मौलिक भोज “झ्व भ्वय” सम्पन्न

पोखरा-
पोखरामा शनिबार मौलिक नेवारी साँस्कृतिक भोज झ्व भ्वय सम्पन्न भएको छ । नेवा खल कास्कीको आह्वान तथा नेवा मिसा पुच कास्कीको आयोजनामा उक्त मौलिक भोज भएको हो ।

नेवा छेँ भिमसेनटोलमा भएको कार्यक्रममा १२ सय जना ब्यक्तिले सहभागी जनाई लामबद्ध बसेर नेवारी मौलिक भोज खाएका थिए । भोजमा सबै समुदायको उपस्थिती रहेको थियो । बढ्दो आधुनिकता संगै परम्परागत मौलिक खानाका परिकार तथा मौलिक भोजको परम्परालाई बफेट पार्टीले बिस्थापन गर्न लागेको सन्दर्भमा यस्ता खालका भोजले अर्थ राख्ने हुनाले भोजको आयोजना गरेको नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासले बताए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै उच्च अदालत पोखराका मुख्य न्यायधिश पुरुषात्तम भण्डारीले मौलिकपनको जगेर्नाले मात्र्र संस्कृति जीवन्त रहने हुँदा हरेक जातजातीले आफ्नो संस्कारलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए । नेवा खल कास्की का अध्यक्ष अशोक पालिखेले नेवा खल नेवारी संस्कृति प्रवद्र्धन गर्नका लागि जन्मिएको संस्था भएकाले यो गैरराजनीतिक तथा बिशुद्ध सामाजिक साँस्कृतिक संस्था भएको बताए । उनले पोखरामा रहेका नेवार समुदायलाई साँस्कृतिक रुपमा मजबुत बनाई यसको मौलिकपनलाई बचाईराख्न लागिपरेको बताए । कार्यक्रममा आदिबासी जनजाती महासंघ तनहुँका अध्यक्ष शंकरनारायण श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा नेवारी संस्कृतिमा योगदान पुर्याउने तथा कार्यक्रम सफल बनाउन सघाउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक मोहिनी श्रेष्ठले स्वागत तथा पुचका सचिब संगीता बज्राचार्यले सञ्चालन गरेका थिए ।

“झ्व भ्वय” भन्नाले नेवार समुदायमा परम्परागत रुपमा चल्दै आएको मौलिक नेवारी खानाको संस्कार हो । जसमा सहभागी सबै जना लस्करै बसेका हुन्छन, सहभागी मध्य सबैभन्दा पाको ब्यक्तिले खान शुरु गरे पछि खाने र खान सकेर चुठे पछि मात्रै सबैले चुठ्ने चलन हुन्छ । नेवा मिसा पुच कास्कीले प्रत्यक वर्ष नेवारी साँस्कृतिक भोज झ्व भ्वय गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button