पोखरामा कविताको फरक स्वाद चखाउन कन्सर्ट


पोखरा,
कवि र कवितालाई व्यावसायिकता दिँदै पोखरेली पारखीलाई फरक स्वाद चखाउन कविता कन्सर्ट हुने भएको छ । ‘नयाँ वर्षको सुरुवात सिर्जनशील कामबाट’ भन्ने उद्घोषका साथ पब्लिक इभेन्टले पोखरामा दोस्रो कविता कन्सर्ट गर्न लागेको हो ।
साहित्यकै जेठो विधा कवितालाई व्यावसायिकता दिँदै कविलाई प्रोत्साहन र सम्मान गर्न पब्लिक इभेन्टले दोस्रो पटक कविता कन्सर्ट गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
कन्सर्टमा नेपालका ३ चर्चित कवि र ३ गायकगायिकालाई वैशाख २ मा कविता कन्सर्टमा उभ्याउन लागेको कार्यक्रम संयोजक उपेन्द्र पौडेलले जानकारी दिए । ‘पोखरेली कविता पारखीलाई कविता कन्सर्टको बारेमा गएको वर्ष नै जानकारी छ,’ संयोजक पौडेलले भने, ‘गएको वर्ष संगीतको फ्युजन गरेर कविता पस्केका थियौं । यसपटक कविता वाचनसँगै नेपालका चर्चित गायक गायिकाबाट कविता गायन पनि हुनेछ ।’
कवि विप्लव ढकाल, उपेन्द्र शुब्बा र मोमिला जोशीले चार कविताका दरले दर्जन कविता वाचन गर्नेछन् भने कर्ण दास, लोचन भट्टराई र इतु जोजिजुले प्रत्यक्ष वाद्यवादनका साथ ६ कविता गाउने आयोजकले जानकारी दिएको छ । आदिकवि भानुभक्त आचार्य, शिद्धिचरण श्रेष्ठदेखि तीर्थ श्रेष्ठसम्म कविता गायनले जोड्ने इभेन्ट संयोजक सञ्जय मल्लले जानकारी दिए । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको सहकार्यमा हुने कविता कन्सर्ट कविता वाचन र गायनलाई सँगसँगै लैजान र कविलाई व्यावसायिक हुन सहयोग गर्ने आयोजकको विश्वास छ ।
यो कविता कन्सर्ट साहित्यिक गतिविधि भइरहने पोखरामा मात्रै नभएर नेपालमै फरक र अर्थपूर्ण रहने विश्वास लिइएको मिडिया संयोजक अमृत सुवेदीले बताए । कविता सुन्नका लागि ५ सय र एक हजारको टिकट काट्नुपर्ने आयोजकले जानकारी दिएको छ । कविता कन्सर्टलाई बाजेको सेकुवा पार्टी प्यालेस एन्ड रेस्टुरेन्टले शीर्ष प्रायोजन गरेको छ । कार्यक्रममा झन्डै ४ सयभन्दा कविता पारखीले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button