प्रदेश नम्बर चारमा पहिलो हुने एमालेको दाबी

पोखरा-

नेकपा एमालेले आगामी स्थानीय निर्वाचनमा प्रदेश नम्बर ४ मा पहिलो हुने दाबी गरेको छ ।

नेकपा एमाले प्रदेश नम्बर ४ संगठन कमिटीको आइतबार पोखरामा बसेको विस्तारित बैठकमा प्रदेश नम्बर चारका प्रमुख एवं पार्टी स्थायी कमिटीका सदस्य किरण गुरुङले स्थानीय निकायको निर्वाचनमा एमाले पहिलो बन्ने घोषणा गरेका हुन्  । ‘बिभिन्न जिल्लाको रिपोर्टिङका आधारमा एमाले प्रदेश नम्बर चारमा पहिलो बन्छ’, उनले भने – ‘महानगरपालिकासहित ८३ वटा स्थानीय तहमध्ये हामी अधिकांशमा जित्छौं ।’
टिकट दिँदा पार्टीलाई योगदान पुर्याएका पुराना र नयाँ उर्जाशीलहरुलाई प्राथमिकता दिइने उनले बताए ।

यसैगरी, नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं प्रदेश उपप्रमुख गणेश तिमिल्सेनाले पार्टीको सांगठानिक सुदृढीकरण तथा विस्तार, सरकारमा गरेको काम र पार्टीप्रतिको आकर्षणले एमाले पहिलो हुने निष्कर्ष निकालेको जानकारी दिए । उनले टिकटका लागि अनावश्यक दबाब दिनेमाथि कडाइ गरिने बताए ।

विस्तारित बैठकमा बोल्दै एमालेका नेताहरु सोमनाथ प्यासी, थममाया थापा, रवीन्द्र अधिकारी, मानबहादुर जिसी तथा सांसदहरु डा. भीष्म अधिकारी, टुका हमाल, नवराज भुसाल, जीवन श्रेष्ठ, टुकराज सिग्देल लगायतले जनताको माझमा एमाले लोकप्रिय रहेकाले पहिलो हुनेमा कुनै शंका नरहेको बताएका थिए ।

यसैगरी, बैठकमा युवासंघका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलु पन्त, बुद्धिजीवि परिषद्का केन्द्रीय अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, अनेरास्ववियुका कार्यबाहक अध्यक्ष रश्मी आचार्य, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, मुस्लिम इत्तेहाद संगठनका उपाध्यक्ष ताज महम्मद मियाँ, चार नम्बर प्रदेश सम्पर्क मञ्च उपसंयोजक कमल दानी, अखिलका सचिव आरसी लामिछाने, प्रेस चौतारीका सचिव रामकृष्ण शर्मा लगायतले एकढिक्का भएर जनतामाझ जान एमाले नेताहरुलाई सुझाव दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button