अन्नपुर्ण गापाका योजना प्राथमिकीकरण

 

पोखरा न्युज –

अन्नपूर्ण गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउँदै समृद्धिको मार्गमा लैजाने लक्ष्यका साथ बजेट, नीति तथा कार्यक्रम र कानुनसमेत निर्माण गर्न योजना प्राथमिकीकरण सुरु गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका क्षेत्रमा स्थायी बसोबास भई विभिन्न पेसा–व्यवसायमा क्रियाशील विज्ञसँग गाउँपालिका अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष सगुन गुरुङ र कार्यालय प्रमुख खेमराज देवकोटाले संवाद, भेटघाट, अन्तरक्रिया एवम् सुझाव सङ्कलन कार्यलाई अघि बढाउनुभएको हो ।

सोमबार अन्नपूर्ण गाउँपालिकाको नाँगडाँडामा साबिक ढिकुरपोखरी, सल्यान, लुम्ले, दाङसिङ, घान्द्रुक गाविसका कृषि तथा भेटेरिनरी सम्बद्ध प्राविधिक र अगुवा कृषकको उपस्थितिमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियाका सहभागीले गाउँपालिकाको समग्र विकासका लागि एक वडा र एक पकेट क्षेत्रका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

ढिकुर पोखरी पशुसेवा केन्द्रका प्राविधिक गोविन्दराज अधिकारीले विभिन्न पकेट क्षेत्रभित्र गर्न सकिने कृषि तथा पशु व्यवसायका सम्बन्धमा सहभागीले दिएको सुझावलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

सहभागीले गाउँपालिका–१० र ११ घान्द्रुकमा भेडापालन, दाङसिङको उपल्लो भेग र ७ नं वडाको लुम्ले र वडा नं ४ सल्यानमा बाख्राको स्रोत केन्द्र निर्माण, वडा नं ८ र ९ दाङसिङको तल्लो भेग, वडा नं ५ सल्यान र वडा नं १, २ र ३ ढिकुरपोखरीमा गाईभैँसीपालनको पकेट क्षेत्र बनाउनुपर्ने सहभागीको सुझाव रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, वडा नं ६ लुम्लेमा स्थानीय भैँसी संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रमका अर्का सहभागी कृषि सेवा केन्द्र ढिकुरपोखरीका प्राविधिक सहायक शशिकुमार शाहले अन्नपूर्ण गाउँपालिकामा हिमाली क्षेत्रसमेत पर्ने हुँदा यस क्षेत्रमा मौसमी एवम् बेमौसमी खेतीका लागि उपयुक्त ठाउँ भएको बताउँदै कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाभित्र २२ वटा कृषि फार्म र २३ वटा पशुपालन फार्म दर्ता भई व्यावसायिक रुपमा सञ्चालनमा आएका छन् । कार्यक्रममा अगुवा कृषक लीला सुवेदी, दाङसिङ, दलबहादुर गुरुङ, घान्द्रुक, बनबिरे गुरुङ, कलाधर भुगाई, शोभाखर अधिकारी लगायतले कृषि पेसामा हुने गरेका समस्या, बजार व्यवस्थापन, राज्यको सहयोगमा कमी लगायतका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका प्रमुख युवराज कुँवरले व्यावसायिक कृषि पेसा सञ्चालनका लागि औजार र उपकरणमा अनुदान, सस्तो ब्याजदरमा ऋण सुविधा, उद्यमशीलता विकासका लागि सीप प्रशिक्षण संस्थाको सञ्चालन गरी पशुपालन र कृषि व्यवसायलाई आत्मनिर्भर बनाउनतर्फ लाग्ने बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button