चलिए पोखरा असार १६ बाट सुरु हुँदै

पोखरा न्युज –

भारतयि पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल संघ पोखराले यही असार १६ गतेबाट उत्तर भारतका केही शहरहरुमा चलिए पोखरा अभियान संचालन गर्ने भएको छ । छ वर्ष अघि सुरु भएको यो अभियान यसपटक असार २० गते सकिने छ ।

बोर्डर टाउन सेल्स मिसन नाम दिइएको अभियानलाई नेपाल पर्यटन बोर्डले साथ दिएको छ । पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, बोर्डका अधिकारी र संचारकर्मी गरी ३० जनाको समूह चलिए पोखरा अभियान लिएर भारत जान लागेको हो । अभियानले बिहारको राजधानी पटना, उत्तर प्रदेशको लखनउ र गोरखपुर क्षेत्रमा पोखरा क्षेत्र र समग्र नेपालको प्रबद्र्धन गर्ने अभियानका संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

विनासकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी तथा तराई आन्दोलनबाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न यो अभियानले सघाउने विश्वास गरिएको तुलाचनले सुनाए । पटक पटक भारतीय पक्ष र विज्ञहरुबाट उठाउने गरिएको कनेक्टिभिटीको मुद्दा र दीगो पर्यटनको नेपाली लक्ष्यलाई समेत केन्द्रमा राखी प्रवद्र्धन अभियान संचालन गरिने अध्यक्ष तुलाचनले प्रष्ट्याए । यस अघिको अभियानले लखनउ, कानपुर, बनारस, गोरखपुर, इलाहबाद र फैजाबादमा जस्ता क्षेत्रलाई बढी मात्रामा समेटेको थियो । संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य विप्लव पौडेलको कार्यकालमा भारतीय पर्यटकलाई लक्षित गरी सन् २०१२ बाट अभियानको सुरुवात गरिएको थियो ।

पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई भारतीय शहरहरुमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्धेश्य रहेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । पत्रकार सम्मेलनहरु र द्विपक्षीय व्यापारिक भेटघाट (वीटुवी) कार्यक्रमका साथ प्रचारात्मक गतिविधिहरु अगाडि बढाउने योजना अभियानले समेटेको उनले बताए ।

यसपटक अभियान सञ्चालन हुने उल्लेखित भारतीय शहरमा अहिले ४० डिग्री सेल्सियस हाराहारीको तापक्रम रहने गरेको छ । त्यस्तो उकुसमुकुसबाट मुक्त भई केही दिन भए पनि आनन्द लिन भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य हुन सक्ने विश्वास अन्तर्गत पनि अभियान संचालन गर्न लागिएको जनाइएको छ । पछिल्ला वर्षहरुमा भारतको आर्थिक वृद्धिदर र भारतीयको प्रति व्यक्ति आय समेत बढ्दै गरेको अवस्था, उल्लेखित शहरहरुको जनघनत्व पनि बाक्लो रहेको र त्यहाँका नागरिकलाई पोखरासम्मको पहुँच समेत छोटो र सहज पर्ने हुँदा चलिए पोखरा अभियानलाई निरन्तरता दिने अभियानमा व्यवसायी जुटेका हुन् ।

अर्कोतर्फ सौखिन भारतीय पर्यटकको संख्यासमेत बढ्दै गएको, उनीहरु सँग समेत फुर्सदको समय हुने र त्यस्तो समयमा घुम्ने क्रम उनीहरुमा बढ्दै गएको अवस्थालाई ख्याल गरेर समेत कार्यक्रम सुरु गर्न लागिएको हो । मुक्तिनाथ, मनकामना लगायत नेपालका अन्य कतिपय धामहरुमा समेत भारतीय पर्यटक आउने जाने क्रम बढेको कारण धार्मिक पर्यटनलाई समेत बढवा दिन सकिने संभावना अभियानले समेटेको जनाइएको छ ।

तथ्यांक अनुसार नेपाल घुम्न आउने पर्यटकमध्ये ३३ प्रतिशत भारतीय छन् । भारतीय पर्यटक सामान्यतया चितवन, पोखरा, मनकामना हुँदै प्रसिद्ध तीर्थस्तल मुक्तिनाथ पुग्न रुचाउँछ । नेपाली पर्यटकका लागि जाउँ है पोखरा र तेश्रो मुलुकका पर्यटकका लागि पोखराः प्युर एण्ड पर्फेक्ट नारा सहित प्रवद्र्धनको अभियानलाई पनि विगतदेखि संघले निरन्तरता दिंदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button