थाई राजदूतलाई पोखरा उद्योग वाणिज्य संघको स्वागत

पोखरा न्युज –

नेपालका लागि थाइल्याण्डका राजदूत भकावत तान्सकुलले नेपालको पर्यटन प्रवद्र्धनको लागि सघाउन थाइल्याण्ड तयार रहेको बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य संघले शुक्रबार ( आज ) उहाँको सम्मानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजदूत तान्सकुलले सो कुरा बताउनुभएको हो । ‘थाइल्याण्डमा वर्षेनी झण्डै ३ करोड ५० लाख पर्यटक आउँछन्,उनीहरुलाई व्यवस्थापन गरेको अनुभव हामी नेपालसँग बाढ्न सक्छौँ’, उहाँले भन्नुभयो,‘ आवश्यक ठानेमा हामी नेपालका व्यवसायीहरुलाई थाई व्यवसायीहरुसँग भेटघाटको व्यवस्था मिलाउन तयार छौँ ।’नेपाल र थाइल्याण्डबीच बुद्ध धर्मका कारण गहिरो सम्बन्ध रहेको चर्चा गर्दै उहाँले जनस्तरमा हुने सबन्धले व्यवसाय बिस्तारमा सहयोग पुरयाउने धारणा राख्नुभयो । थाइल्याण्डले नेपालसँग व्यापार, विकास र शिक्षाको क्षेत्रमा पनि सहकार्य गर्न सक्ने बताउँदै उहाँले यी क्षेत्रहरुमा अझ बढी सहकार्यको लागि आफू तयार रहेको राजदूत तान्सकुलको भनाई थियो ।

थाइल्याडबाट वर्षेनी ५० हजार जनाले नेपालको भ्रमण गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले त्यो संख्या अझ बढ्दै जाने जिकिर गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध बिस्तारको लागि राष्ट्रिय फुटबल टोलीबीच मैत्रीपूर्ण खेलको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाल र थाइल्याण्डबीचको ५८ वर्ष पुरानो सम्बन्धको क्रममा थाइल्याण्डबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । थाइल्याण्डले पर्यटन उद्योगमा गरेको प्रगति नेपालको लागि प्रेरणा भएको बताउँदै उहाँले पोखराका उद्योगी-व्यवसायीहरु थाइल्याण्डका व्यवसायीहरुसँग सहकार्यको लागि तयार रहेको जानकारी दिनुभयो ।

थाइल्याण्डको ध्वजावाहक थाइ एयरवेज र नेपाल एयरलाइन्स सँगै स्थापना भए पनि कुशल व्यवस्थापनको कारण थाई एयरवेजले ठूलो फड्को मारेको उदाहरण दिँदै अध्यक्ष पालिखेले भन्नुभयो,‘थाइल्याण्डबाट व्यवस्थापकीय पक्षबारे हामीले सिक्नैपर्छ । ’

पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गर्नुभएको सो कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, पदाधिकारी, कार्यसमिति सदस्यहरु ,प्याब्सन र एनप्याब्सन, नेपाली युवा उद्यमी मञ्च, पोखरास्थित विभिन्न बस्तुगत संघका पदाधिकारी एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button