नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर उच्च जोखिममा

पोखरा न्युज –

नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

स्तरोन्नति भइरहेको सो सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न नारायणगढ मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

आयोजनाका सामाजिक विकास तथा पुनर्वास विज्ञ शिवराज सेढाईंले सो सडकको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिनुभएको छ । सेढाईंका अनुसार त्रिशूली नदीतर्फको सेती दोभान, केराबारी, चोभार खोला, कालीखोला, टोपे खोलालगायत क्षेत्रमा रहेका घर जोखिममा रहेका छन् ।

भित्तो काटिएका र नकाटिएका पहाडबाट पहिरो खस्न सक्ने जोखिम देखिएकाले ती घर स्थानान्तरणका लागि सुझाव दिइएको सेढार्इंले बताउनुभयो । थप १५ दिनमा विस्तृत अध्ययन गरी प्रतिवेदन दिइने बताउँदै उहाँले तत्काल जीउधनको क्षति न्यूनीकरणका लागि ती घर स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार विज्ञबाट प्राप्त प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । आउँदो वर्षको बजेटबाट मुआब्जा दिने गरी ती घर अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह गरिएको उहाँले बताउनुभयो । यो सडक राष्ट्रिय राजमार्गको अति महत्वपूर्ण सडकभित्र पर्दछ । यस्ता सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५÷२५ मिटर सडकको भागमा पर्दछ । ती अधिकांश घर सडकको भागमा नै पर्दछन् । अति जोखिममा रहेका घर मात्र तत्कालका लागि स्थानान्तरण गर्न भनिएको हो ।

खनालका अनुसार सडकको मापदण्डअनुसार घर भत्काउने हो भने दासढुङ्गादेखि मुग्लिनसम्मका कुनै पनि घर सडक छेउमा बाँकी रहँदैनन् । सडकको एकापट्टि नदीको तिरमा साना घरहरु छन् भने अर्कोपट्टि छेउमा ६० मिटर सम्म अग्ला पहाड रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आफूले आयोजनाको पत्र पाइनसकेको बताउँदै पत्र पाए लगत्तै दैवीप्रकोप उद्धार समितिले आवश्यक काम अघि बढाउने बताउनुभयो । सोे सडक छेउमा होटल, किराना पसल, ग्यारेज लगायतका व्यवसायसहित बसोबासका लागि पनि बनाइएका छन् ।

नारायणगढ मुग्लिन सडकखण्डमा असार यता मात्र दैनिकजसो पहिरो खसेर नेपाल प्रहरीको भ्यान र ट्रक बगाएको थियो भने तीन प्रहरीको मृत्यु र एक अझै बेपत्ता रहेका छन् । सडकबाट चिप्लिएर एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । पहिरोका कारण ३४ घन्टासम्म सडक बन्द रहँदा यात्रुले हैरानी बेहोर्दै आएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button