उपत्यकाबाट ३८ मेट्रिक टन फोहर व्यवस्थापन

पोखरा न्युज –

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज ३८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २१७ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँ पुलस्थित गुसिङगाल क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा सहरी विकास मन्त्री प्रभु साह पनि सहभागी हुनुभयो ।

सफाइमा सहभागीहरुसँगै फोहर उठाउन सक्रिय हुनुभएका मन्त्री साहले सफाइ महाअभियानलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । वाग्मती सफाइ महाअभियानले असम्भव जस्तै कुरालाई पनि सम्भव बनाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

“सफाइ अभियानलाई देशका अन्य नदीमा पनि विस्तार गर्नुपर्छ, वाग्मती नेपालको गौरव हो, यसलाई पुरानै स्वरुपमा फर्काउन ढलको उचित व्यवस्थापनका साथै जग्गा अतिक्रमण रोकिनुपर्छ” – उहाँले भन्नुभयो ।

सो अवसरमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले वाग्मती सफाइ महाअभियानलाई १०० जोर गमबुट, एक हजार थान मास्क र एक हजार थान पञ्जा उपलब्ध गराउनुभएको वाग्मती अभियानकर्मी उमेश बोहराले जानकारी दिनुभयो । राष्ट्रिय वाणिज्य बैंकका नायब प्रबन्धक सुशील श्रेष्ठले पनि ९० जोर गमबुट, ३५ जोर बाक्लो पञ्जा र २० वटा टोपी ९क्याप० सहयोग उपलब्ध गराउनुभयो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ र ललितपुर महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, मुक्तिनाथ विकास बैंक, पहिलो पाइला, न्यानो स्पर्श, एक्सिस स्कूल, जीवन विज्ञान, हलेशी डेकोर, युरेसिया रेयुकाइ, गायत्री परिवार, नेपाल विज्ञापन सङ्घ, सुपादेउराली युथ नेटवर्क, ब्लुक्रस अस्पताललगायत विभिन्न संस्थाको संस्थागत सहभागिता थियो ।

सफाइमा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, प्रहरी उपरीक्षक गणेश ऐर, अभियन्ताहरु एलपी भानु शर्मा, डा लक्ष्मी पौड्याल, अर्जुन धरेल, सागर थापा, गोकुल थापा, किशोरसिंह शाही, नारायणकुमार श्रेष्ठ, गोविन्द राउत, चक्रबहादुर चन्द, गोविन्द काफ्ले, सिस्नोपानी नेपालका महासचिव टङ्कराज आचार्य, गायिका कोमल ओली, हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’, पूर्व सचिवद्वय किशोर थापा र डा कृष्णचन्द्र पौडेललगायत महाअभियानका ७०० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मतीमा पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले आयोजना गरेको १७८औँ हप्ताको सफाइमा गोठाटार पहेँलो पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाभन्दा बढी स्थानीयवासीको उपस्थिति थियो ।

यसैगरी, वाग्मतीको तिलगङ्गा क्षेत्रमा महिला समूहले गरेको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

यसैगरी, रुद्रमती सफाइको १७६औँ हप्तामा रातोपुलबाट आनन्दमार्ग हँुदै सेतो पुलसम्म जनचेतनामूलक अभियानसहित घरदैलो गरियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीसहित सदस्यहरुको सहभागिता थियो । सफाइमा २०० जनाभन्दा बढीको सहभागिता थियो ।

विष्णुमती सफाइको १४८औँ हप्तामा नयाँ बसपार्क पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

चक्रपथ सफाइको १३औँ हप्तामा सामाखुसी चोकबाट गोङ्गबुसम्म सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा संयुक्त राष्ट्रसङ्घका लागि पूर्व नेपाली स्थायी प्रतिनिधि डा जयराज आचार्यलगायत ४०० भन्दा बढीको सहभागिता थियो ।

सकारात्मक मातृशक्ति आवाजले आलोकनगर मीनभवनमा आयोजना गरेको १३औँ हप्ताको सफाइमा विशेष सचेतनात्मक सफाइ अभियान गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button