पल्सर स्पोर्टस अवार्ड भदौ महिनामा हुने

पोखरा न्युज –

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने यस वर्षको पल्सर स्पोर्टस अवार्ड–२०७३ आगामी भदौ महिनामा हुने भएको छ ।

मञ्चको बाइसौँ वार्षिकत्सवको अवसर पारेर भदौ २६ गते अवार्ड कार्यक्रम गरिने मञ्चका अध्यक्ष महेश आर्चायले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।

त्यस्तै, मञ्चको महासचिव प्रकाश तिमल्सिनाले विगतका वर्षमा जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा अवार्ड प्रदान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पहिलोपटक चार विधाका विजेताले बजाज कम्पनीको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

यसअघि उत्कृष्ट पुरुष र महिला खेलाडी र पिपल्स च्वाइस अवार्ड विजेताले मोटरसाइकल पाउँदै आएका थिए । यो वर्ष अर्को एक विधाका विजेतालाई पनि मोटरसाइकल दिइने र त्यसका विषयमा पछि जानकारी गराइने मञ्चका अध्यक्ष आचार्यले बताउनुभयो । अन्य चार विधाका विजेताले अवार्डका साथै रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

मञ्चका अध्यक्ष आचार्यको संयोजकत्वमा अवार्ड सफल बनाउन मूल समारोह समितिका साथै विभिन्न उपसमितिसमेत गठन गरिएको छ । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमा विभिन्न विधाका मनोनयनमा पर्ने खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्ने उक्त पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

हंसराज एन्ड हुलास चन्दका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यस अवार्डलाई व्यावसायिक रुपमा नभई खेलकुदको विकास तथा विस्तारका लागि आफूहरुले प्रायोजन गर्दै आएको बताउनुभयो । उहाँले अवार्डका लागि नगद र जिन्सीसहित रु १८ लाख ९० हजार बराबरको प्रायोजन गरेको जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button