पोखरा २४ सै घण्टा खुलाउन सुरक्षा प्रबन्ध

 

पोखरा न्युज-

गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र  पोखरा र ठमेल लाई २४ सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभएको छ ।

गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको आज काठमान्डौमा  उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मैले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको हुनाले व्यवसायीलाई पहल कदमी लिएर अगाडि बढ्न आग्रह गर्छु, आवश्यक सुरक्षा गर्न सम्बन्धित प्रशासनले मिलाउने व्यवस्था भइसकेको छ ।”

कार्यक्रममा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन क्षेत्रमा राजनीति हावी भएको टिप्पणीका सन्दर्भमा पर्यटन क्षेत्रको विकासका लागि राजनीतिमुक्त होइन राजनीतिकरणमुक्त बनाइनुपर्छ भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन क्षेत्रमा मौलाएको राजनीतिको अन्त्य गरी पर्यटकीय पूर्वाधार निर्माणतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । पर्यटन व्यवसायी दीपक महत, रामशरण थपलिया, कमल सापकोटा, नवराज दाहाल लगायतले पर्यटन क्षेत्रलाई व्यावसायिक र मर्यादित ढंगले अघि बढाउन व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायी कमल सापकोटालाई ‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ अवार्डबाट सम्मान गरिएको छ । गन्तव्य नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘गन्तव्य नेपाल पत्रकारिता–पुरस्कार’ पर्यटन प्रवद्र्धनमा योगदान गरेबापत यस वर्ष ‘राष्ट्रिय समाचार समिति’ (रासस) का कार्यकारी सम्पादक कृष्ण अधिकारी र ‘जनसवाल’ दैनिकका प्रधानसम्पादक रामजी बगालेलाई रु १० हजारसहित प्रदान गरिएको छ ।

कार्यक्रममा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विभिन्न पर्यटन व्यवसायीलाई समेत सम्मान गरिएको थियो । गन्तव्य नेपालले पछिल्लो समय गन्तव्य ग्रुपमार्फत साप्ताहिक पत्रिका र ‘गन्तव्य नेपाल डटकम’ अनलाइनमार्फत पर्यटन पत्रकारितामा योगदान गर्दै आएको अध्यक्ष शिव अधिकारीले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button