नेपालद्वारा सिंगापुर २२ रनले पराजित

 

पोखरा न्युज –

सिंगापुरमा जारी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।

सिंगापुरको इन्डियन एशोसिएसनको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको सिंगापुर ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो ।

सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्त सिंहले २५, युवराज सिंहले १९ र हन्सुल दीपले ३२ रन बनाए ।

सिंगापुरलाई १४६ रनमा रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । त्यसैगरी किशोर महतो र पवन शर्राफले समान दुई दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे । ८३ बल खेलेका उनले दुई छक्का र दुई चौका प्रहार गर्दै ५४ रन जोडे । प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ तथा प्रकास केसीले २३ रन बनाए ।

बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले तीन तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान दुई÷दुई विकेट लिए । विश्वासरेले १० ओभरमा दुई मेडन राखि २९ रन दिए । आर्यमानले पाँच ओभरमा २३ रन तथा गोपीनाथले १० ओभरमा ३१ रन खर्चे । अंश भार्गभ र रोहनले एक÷एक विकेट लिए ।

डबल राउण्ड रोविन लिगमा भएको उक्त प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा सिंगापुरलाई चार विकेटले तथा मलेसियालाई पाँच विकेटले हराएको थियो । बिहीबार तेस्रो खेलमा अफगानिस्तानसँग नेपाल १४१ रनले पराजित भएको थियो ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष न्युजिल्याण्डमा हुने उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगितामा खेल्न पाउनेछ । चार खेल खेलिसक्दा नेपाल तीन जित र एक हारसँगै ६ अङ्कका साथ दास्रो स्थानमा छ । अफगानिस्तान अहिलेसम्म खेलेको चारवटैमा विजयी भई ८ अङ्कसहित शिर्ष स्थानमा रहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button