हात्तीसारेका लागि पहिलोपटक बीमा

पोखरा न्युज –

चितवन राष्ट्रिय निकुञ्जभित्र हात्तीमा काम गर्ने सबै हात्तीसारेका लागि पहिलो पटक बीमा गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार कुनै घटना भइहालेमा रु १० लाख पाउने गरी उनीहरुको बीमा गरिएको हो ।

पहिलो पटक बीमा गरिएपछि निकुञ्जमा कार्यरत एक सय १९ जना हात्तीसारे खुसी भएका छन् । बीमाले हात्तीसारेलाई काममा लाग्न थप प्रेरणा मिल्ने विश्वास लिइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार एक सय ५५ जना दरबन्दी रहेकोमा अहिले एक सय १९ जना कार्यरत छन् । उनीहरुको प्रिमियम समेत ‘जुलोजिकल सोसाइटी अफ लण्डन’ (जेडएसएल) को नेपाल कार्यालयले तिरेर बीमा गरिएको हो ।

जेडएसएल नेपालका कार्यक्रम व्यवस्थापक डा भगवानराज दाहालले उनीहरुका लागि लाग्ने रु एक लाख ८१ हजार ५५७ कार्यालयले बेहोरेको जानकारी दिनुभयो ।

चितवनसँगै नेपालका अन्य संरक्षित क्षेत्र पर्सा, बाँके बर्दिया, शुक्लाफाँटामा समेत बीमा भएको उहाँले जानकारी दिनुभयो ।

हरेक वर्षको प्रिमियम उक्त संस्थाले नै तिरिदिने छ । यसअघि हात्तीसारेको कुनै घटना भएमा क्षतिपूर्ति वापत निकुञ्जले रु दुई लाखसम्म दिइने गरिएको थियो । अब उनीहरुको मृत्यु भएमा रु १० लाख पाइने र घाइते भएमा रु १० लाखसम्मको उपचार खर्च पाइने गरी प्रिमियम इन्सुरेन्स कम्पनी नेपालमा बीमा भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा कुनै जंगली जनावरलाई नियन्त्रणमा लिन र वन एवम् वन्यजन्तुको सुरक्षा गस्तीमा हात्तीको प्रयोग गरिन्छ । त्यही हात्तीको रेखदेख र सञ्चालनका लागि यहाँ हात्तीसारे राखिएको छ । नेपालकै एकमात्र हात्ती प्रजनन् केन्द्र समेत चितवनको सौराहामा छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button