जैविक प्रदूषणको चपेटामा कालीगण्डकी

पोखरा न्युज –

वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित भएका छन् । यो संगै नदीको अस्तित्वसमेत खतरामा परेको छ ।

तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ ।

उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र अनियन्त्रितरुपमा ढल मिसाउनेजस्ता गलत मानवीय क्रियाकलापले कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्न गई पर्यावरणीय दृष्टिकोणले यो नदीको अस्तित्व संकटमा पर्दै गएको हो ।

दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औद्योगिक फोहरमैला थुप्रिने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

Loading...

हिन्दूधर्मावलम्बीहरुका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको नदीका साथै शालिग्राम पाइने विश्वकै एकमात्र नदीका रुपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ । धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवं वातावरणीय हिसाबले संवेदनशील नदी हेर्दाहर्दै कुरुप एवं मित्र जीवको सट्टा हानिकारक शत्रु जीवको उर्वर वासस्थानका साथै प्रदूषणको स्रोत बन्न पुगेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

नदीमा भएको जैविक, भौतिक तथा रासायनिक परिवर्तनका कारण आफ्नो मौलिक गुण नष्ट गरी अक्सिजन घुमाउने क्षमतामा आएको ह्रास तथा जलीय वनस्पतिको प्रकाश संश्लेषण प्रक्रियामा उत्पन्न विकराल समस्याबाट मुक्ति पाउनका लागि समयमा नै सबै ‘कालीगण्डकी बचाऊ’ अभियानमा सरिक हुनुपर्ने धारणा वातावरणविद्कोे छ ।

हिमालयबाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटेर बग्दै आएको कालीगण्डकी बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण मानवीय र प्राकृतिक दुवैतर्फबाट प्रदूषित बन्दै गएको छ । नदी अत्यधिक प्रदूषित भएपछि विगतमा कञ्चन र सफा देखिने कालीगण्डकीको पानी अहिले कालो बाख्लो देखिनुका साथै गन्हाउन थालेका छन् ।

संरक्षणको अभावमा प्राकृतिक तातोपानीका मुहान अलपत्र

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् ।

प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा पाँचवटा तातोपानीका मुहान रहेका स्थानीयवासीले बताएका छन् ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी, धौलागिरि गाउँपालिकाको मुदी बगर, मालिका गाउँपालिकाको भालेबास्ने ताल, हिस्तान र दानाको कालीगण्डकी किनारामा गरी नौवटा तातोपानीका मुहान संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका हुन् ।

जिल्लाका विभिन्न ठाउँमा गरी १४ वटा तातोपानीका मुहान पत्ता लागे पनि ती मुहानको संरक्षणमा कसैले पनि चासो नदेखाएको स्थानीयवासीले बताउनुभयो । मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहानको संरक्षण गरी तिनको प्रचारप्रसार गर्न सक्ने हो भने राउण्ड अन्नपूर्ण र राउण्ड धौलागिरिमा आउने विदेशी पर्यटकका साथै विभिन्न रोगका बिरामीले लाभ लिन सक्ने सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

प्राकृतिक उपचारस्थलका रुपमा परिचित बेनपा–४ सिंगा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएका समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभएको छ ।

तातोपानी कुण्डमा वार्षिक २० हजारको हाराहारीमा बिरामी डुबेर उपचार गर्न आउने गरेका छन् । तातोपानीमा रहेका अन्य मुहानलाई पनि व्यवस्थित गर्नुपर्ने शाक्यले बताउनुभयो । यहाँ बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिसजस्तो कठिन रोग लागेका व्यक्ति डुबेर उपचार गर्न आउने गरेका शाक्यले जानकारी दिनुभयो ।

म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानमा मूलबाट नै गन्धक र बिरेनूनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सियससम्मको तातोपानी निस्कने गर्छ । सिंगातातोपानी, भुरुङतातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी संकलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोपानीका मुहानलाई व्यवस्थित गर्न सकिएको छैन । रासस

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close