हराएका ३१ जना अझै भेटिएनन्

पोखरा न्युज –

चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा हराएको भनी निवेदन परेका ३१ जना फेला नपरेकाको खोजी जारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवन जिल्लामा गएको एक वर्षमा ३४५ जना हराएको भनी निवेदन परेको थियो । तीमध्ये ३१४ जना फेला परेपनि ३१ जनाको अवस्था थाहा हुन सकेको छैन ।

प्रहरीको महिला बालबालिका तथा सेवा केन्द्रमा परेको निवेदनअनुसार कतिपय घरबाटै हराएका छन् भने कतिपय भने कुनै स्थानमा जान्छु भनेर फर्की नआएको भनी निवेदन परेको छ ।

केन्द्रकी प्रमुख तथा प्रहरी निरीक्षक अञ्जना श्रेष्ठ धेरैजसो महिला हराएको पाइएको बताउनुहुन्छ । विदेशमा श्रीमान् भएका महिला श्रीमान् आउने थाहा पाएपछि अर्कैसँग जाने, किशोरकिशोरी पनि बिहे गर्ने भनेर घरबाट भागेर जानेजस्ता घटना बढी देखिएको श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार कतिपय महिलाले श्रीमान्ले कमाएको पैसासमेत लिएर गएको पाइएको छ । उक्त केन्द्रले दिएको तथ्याँकअनुसार गएको एक वर्षमा घरेलु हिंसातर्फको ठाडो उजुरीअन्तर्गत ३२० निवेदन परेकोमा २०० वटा घटनामा मिलापत्र गरिएको र अन्यको अनुसन्धान जारी रहेको छ ।

अन्य निवेदनअन्तर्गत १९० वटा उजुरी परेकोमा १०० वटाको समाधान भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । गएको एक वर्षमा उजुरी तथा छानबिन शाखामा भने कुल एक हजार २१४ वटा निवेदन परेकोमा ९१० वटा मुद्दा मिलापत्र भएको थापाले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button