कास्की जिल्लाका ३५ वटा सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण

गणेश बराल, पोखरा न्युज ।

कास्की जिल्लाका ३५ वटा सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ ।

बटरफ्लाई फाउन्डेसन नेपालको आयोजनामा ति विद्यालयहरुमा सेनिटरी प्याड तथा सामग्रीहरु वितरण गरिएको हो । नेदरल्याण्डका नागरिकको आर्थिक सहयोगमा जिल्ला शिक्षा कार्यालय कास्कीसंग समन्वय गरि फाउन्डेसनले सेनिटरी प्याड वितरण कार्यक्रम संचालन गर्दै आएको छ । जिल्लाका २२ वटा स्रोत बिद्यालय तथा स्रोत बिद्यालय अन्तर्गतका अन्य ३० बिद्यालय गरि जम्मा ५२ वटा सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण गर्ने योजना अनुसार फाउन्डेसनले कार्यक्रम गर्दै आएको हो ।

सोही कार्यक्रम अनुसार फाउन्डेसनले पछिल्लो पटक पोखरा लेखनाथ महानगरको अर्घौचोक स्थित सिर्जना बहिरा आवासीय मा.वि. का छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ । विद्यालयमा प्याड वितरण गर्दै कार्यक्रम संयोजक राधा बरालले महिनावारी हुँदा छात्राहरुमा विभिन्न किसिमका शारीरिक तथा मनोवैज्ञानिक असर पर्ने भएकाले त्यस्तो खालको समस्या कम गर्नका लागी आफुहरुले कार्यक्रम लिएर आएको धारणा राखिन । प्याड नहुदा विद्यालयमा छात्राहरु पहिलोपटक महिनावारी हुँदा समस्यामा पर्ने गरेको उनले बताइन । विद्यालयमा महिनावारी हुँदा कुनै पनि छात्राले अनुपस्थित हुनु नपरोस् र छात्राहरुको पढाई नबिग्रियोस् भनेर प्याड वितरण गरिएको बरालले जनाइन ।

कार्यक्रममा बोल्दै बटरफ्लाई फाउन्डेसनका निर्देशक गोविन्दराज पहारीले महिनावारी हेर्दा सानो र प्राकृतिक प्रक्रिया भएतापनि आवश्यक सामाग्री तथा ज्ञानको अभावमा छात्राहरुले कस्टपूर्ण समय बिताउनुपरेको बताए । महिनावारी हुँदा छुनुहुदैन, आफन्तलाई देख्नुहुदैन परै बस्नुपर्दछ अन्यथा देवता रिसाउँछन् भन्ने अन्धविश्वासी मान्यता अहिले पनि हावी भएको आफुले पाएको बताउदै पहारीले यो प्राकृतिक नियम भएकाले त्यस्तो अन्धविश्वासमा नलाग्न आग्रह गरे । छात्राले घरेलु विधिद्वारा जथाभावी प्याड प्रयोग गर्दा रोग सङ्क्रमण भएर पाठेघरको क्यान्सर हुने सम्भावना बढ्ने भएकाले त्यसको उचित प्रयोगमा छात्राहरु सचेत हुन उनले अनुरोध गरे ।

जिल्लाका ५२ वटा सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण गर्ने योजना अनुसार फाउन्डेसनले हालसम्म ३५ वटा विद्यालयमा सेनिटरी प्याड, प्लास्टिकका झोला, डस्टबिन लगायतका सामग्री वितरण गरेको पहारीले जानकारी दिए । फाउन्डेसनले प्रति विद्यालय १ हजार वटाका दरले सेनेटरी प्याड, १ सय वटाको दरले प्लास्टिकको झोला तथा प्रत्येक महिला शौचालयमा १/१ वटाका दरले डस्टबिन वितरण गर्दै आएको उनले जनाए । आफुहरु पहिलो चरणको कार्यक्रममा रहेको बताउदै पहारीले यसको नतिजा राम्रो देखिएमा पुन दाताहरुको खोजि गरि दोस्रो चरणको कार्यक्रम लिएर आउने आश्वासन समेत दिलाए ।

सेनिटरी प्याड वितरण कार्यक्रमलाई नेदरल्याण्डका नागरिक फ्लेयुर, सन्नेक, निक, अमन्दा बोस्भेल्दत् तथा सुपरस्टार मम फ्रिडा कोलेले आर्थिक सहयोग गरिरहेका छन् ।

फोटो – सुजन शिर्पाली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button