जनसंख्या र भूगोललाई आधार मानी निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव

पोखरा न्युज –

जनसंख्या र भूगोललाई मुख्य आधार मानी संघीय र प्रदेश सभाका सदस्यको निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिइएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले विभिन्न राजनैतिक दल,नागरिक समाज, कानून व्यवसायी, सञ्चारकर्मी, भूगोलविद्, उद्यमी एवं व्यवसायीसँग गरेको राय सुझाव अन्तरक्रिया कार्यक्रममा उहाँहरुले जनसंख्यालाई ५१ र भूगोललाई ४९ प्रतिशत आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरिए सबैलाई मान्य हुने बताउनुभएको थियो ।

स्थानीय तहको गठन गरिँदा केही ठाउँका सेवाग्राहीलाई अपायक भई सेवा लिन निकै कठिन भएकाले निकै सुझबुझका साथ संघीय र प्रदेशको निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने र कास्कीलाई साविककै चारवटै निर्वाचन क्षेत्र कायम गर्नुपर्नेमा उहाँहरुको जोड थियो ।

निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य डा विश्वकल्याण पराजुलीले सहभागीबाट प्राप्त महत्वपूर्ण राय, सुझाव र परामर्शले निर्वाचन क्षेत्र निर्धारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले दिएको २१ दिनभित्र निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै उहाँले यस अवधिमा रातदिन खटेर तोकिएकै समयमा आयोगको मापदण्डभित्रै रहेर प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका सभापति कृष्ण केसी, एमालेका अध्यक्ष कृष्ण थापा, माओवादी केन्द्रका राजकाजी गुरुङ, राप्रपाका जयलाल पुन, भूगोलविद् कृष्ण केसी, निमित्त प्रजिअ झलकराम सुवेदीलगायतले आ–आफ्नो सुझाव दिनुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button