पोखरामा गजलको मेहफिल

पोखरा न्युज ।

गजलकार कपिल शर्माले गजलका शेर सुनाउँदा कार्यक्रम हल तालीले गुञ्जियो । गजल सुनाउन मञ्चमा उभिएका उनले मान्छेको बद्लिरहने मन र चर्चाका लागि जोडिने अहिलेका सम्बन्धप्रति ब्यङ्ग्य गर्दै गजलका शेर सुनाउँदा पोखरेली गजलपारखीले तालीले साथ दिए । उनले सामाजिक विसंगति, कुरिती, आधुनिक मायाप्रेमको शैली, राजनीतिक चरित्रमाथि व्यङ्ग्य गर्दै लगातार पाँच गजल सुनाए ।

कपिलपछि विशेष गजलकारकै रुपमा गजल सुनाउन मञ्चमा उभिएका ईश्वरमणि अधिकारीले पनि प्रणय भाव, सामाजिक तथा राजनीतिक व्यङ्ग्यलाई प्रस्तुत गरे । चकचके विद्यार्थीको स्वाभावलाई गजलका शेरमार्फत राजनीतिक नेता बन्ने गुण उसमा देखिएको सुनाउँदा उनले गजलपारखीको ताली खाए ।

५० को दशकदेखि नै गजल लेखनमा सक्रिय अधिकारीले विशेष पाँच गजललाई दर्शकले हौसला बढाए । शनिबार यस्तै गजलले पोखरामा गजलको मेहफिल जमेको छ । गजल सन्ध्या पोखराले प्रत्येक महिनाको दोस्रो शनिबार गर्दै आएको गजल वाचनको नियमित शृंखलाको १ सय ७० औं कार्यक्रमलाई विशेष बनाएको हो । सन्ध्याले २ जना गजलकारलाई विशेष गजल वाचकसँगै अन्य १० जनालाई विषेश कार्यक्रममा जोडेको थियो ।

‘गजल सन्ध्या पोखराले गर्दै आएको नियमित शृंखलालाई केही विशेष बनाउने र गजललाई आममान्छेसँग जोड्दै लैजानका लागि यो अभियान थालेको हो,’ सन्ध्याका अध्यक्ष अमृत सुवेदीले भने, ‘अबदेखि विशेष रुपमा पोखरा र पोखराबाहिरका गजलकारलाई यसरी मञ्चमा उभ्याउँदै लैजाने छौं भने नयाँपुराना सबै गजलकारलाई समेट्न विभिन्न खुल्ला शृंखलाहरु पनि सञ्चालन गरिने छ ।’  धेरै जना राम्रा गजल लेख्ने गजलकार भए पनि यो शृंखलामा १२ जनालाई मात्र समेट्न सकिएको र आगामी शृंखलामा विशेष र खुल्ला गरी सबैलाई समेट्दै लैजाने उनले बताए ।

गजल वाचनका लागि उभिएका पोखराका पुराना गजलकार दीपक समीपले कार्यक्रममा वाहवाही पाए । सन्ध्याका पूर्व अध्यक्षसमेत रहेका उनले गजलमा गजल पारखीको माया र हौसला दुबै पाए । सन्ध्याका पूर्व अध्यक्षसमेत रहेका गजलकार उदीपराज ढुंगानाको गजलले पनि सुनाउँदा पनि उस्तै साथ र माया पाए । कार्यक्रममा गजलकार आवाज शर्माले तरंगम शैलीमा गजल गाउँदा कार्यक्रम साँगेतिक बन्यो । गजलकार प्रञ्जलबाट सुरु गजल वाचन ईश्वरमणिमा पुगेर सकिएको थियो । गजलकार सञ्जीव पौडेल, बिर्सना बस्नेत, भरत पौडेल, साधुराम लामिछाने, सुरज गुरुङ र तनहुँका गजलकार तीर्थमान अथाहसागरले प्रणय भावदेखि विभिन्न विषयका गजल सुनाए ।

सन्ध्याले ‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै गजलको उन्नयन र विकाससँगै जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा नाम दिएर नियमित अक्षरयात्रा कार्यक्रम गर्दै आएको छ । महिनाको तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर कविता, गजल मुक्तक लगायत तद्स्थानीय साहित्यिक सिर्जना गर्ने विशेष कार्यक्रम अक्षरयात्राको साउने शृंखला माग्दीको गलेश्वर धाममा हुन लागेको सचिव वसन्त विनोदले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button