नेपालमा पहिलोपटक सौर्य ऊर्जाबाट उत्पादित विद्युतमा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

पोखरा न्युज –

नेपालमा पहिलोपटक सौर्य ऊर्जाबाट उत्पादित विद्युत् नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यको सुरुवात् भएको छ ।

नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकमा रहेको कार्यालय भवनमा परीक्षण परियोजनाका रुपमा जडित प्रणालीको आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री श्रीमती मिथिला चौधरीले आज संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल इन्जिनियर्स एशोसिएसनसँगको समन्वयमा कुल रु ४३ लाख ४६ हजार २३० मा सो प्रणाली जडान भएको हो । प्रणालीमा २६० वाट पिकको ६० वटा (१५.६ किलोवाट पिक) सौर्य पातासहितको सौर्य ऊर्जा प्रणाली जडान गरी विद्युत् उत्पादन गरिएको छ ।

यस प्रणालीबाट एशोसिएसनको कार्यालय भवनमा दिउँसोको समयमा आवश्यक पर्ने ऊर्जाको आंशिक आपूर्ति गर्ने र ब्याट्रीहरुमा ऊर्जा सञ्चय गरी र बचत भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ । यसरी उत्पादित विद्युत् नेट मिटरिङमार्फत नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा सम्झौता भएबमोजिम जडान गरी प्रसारण लाइनमा प्रवाह गरिने कार्यक्रममा जानकारी दिइयो ।

गत असोज २० गते वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच वैकल्पिक ऊर्जा आयोजनाको विस्तार एवं व्यवस्थापनमा समझदारी भएको थियो ।

सो अवसरमा ऊर्जामन्त्री शाहीले ठूला जलविद्युत् आयोजना स्वदेशी पूँजीबाटै निर्माण गर्न नसकिने भएकाले सरकार विदेशी लगानी आकर्षित गर्न लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न पनि बाह्य लगानी भित्र्याउनुपर्छ, यसका लागि सरकार उपयुक्त वातावरण र लगानीको सुरक्षा दिन तयार छ ।”

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले नवीकरणीय ऊर्जाको माध्यमबाट कार्बन उत्सर्जन, स्थानीयस्तरमा रोजगारी र वातावरणमैत्री विकास सम्भव भएकाले सरकारले यसतर्फ जोड दिएको छ भन्नुभयो ।

उहाँले केन्द्रले यस प्रणालीको सफल कार्यान्वयन भएपछि अन्य स्थानमा समेत यस्ता प्रणाली जडान गर्ने कार्य अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय ऊर्जामा आत्मनिर्भर हुन जलविद्युत्लगायत नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।

जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले राष्ट्रिय ऊर्जा संकट र जलवायु परिवर्तनको नकारात्मक असर कम गर्न र दिगो वातावरणमैत्री विकासका लागि सरकारले नवीकरणीय ऊर्जामा जोड दिएके बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले शहरी क्षेत्रका ठूला भवन, कार्यालयबाट छतमा सौर्य प्यानल राखी उत्पादन भएका विद्युत् र रातको समयमा खेर गएको विद्युत्लाई उपयोग गर्न सके भरपर्दो र गुणस्तरीय ऊर्जाको आपूर्ति गर्न सकिनेछ भन्नुभयो ।

केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले प्राधिकरणसँग भएको सहमतिअनुसार देशका अन्य ठाउँमा पनि सौर्य प्रणालीबाट ठूलो परिमाणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्न सकिने बताउनुभयो ।

कार्यक्रमका सभापति इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले नेट मिटरिङबाट उत्पादित विद्युत्को महसुल कम गर्न सकिएमा व्यक्तिगत ढंगबाट पनि विद्युत् उत्पादन गर्न सकिने उल्लेख गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button