स्वतन्त्र र सक्षम न्यायपालिका नै लोकतन्त्रको प्राण – मन्त्री थापा

पोखरा न्युज –

कानुन, न्याय तथा संसदिय मामिला मन्त्री यज्ञबहादुर थापाले स्वतन्त्र र सक्षम न्यापालिका नै लोकतन्त्रको प्राण भएको बताउनुभएको छ ।

डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले लोकतन्त्रलाई जोगाउनका लागि न्यायपालिका स्वतन्त्र र सक्षम हुनुपर्नेमा जोड दिनुभएको हो । न्यायालयमा हुने गरेका विकृति विसंगतिका बारेमा आफु सचेत रुहेको बताउदै मन्त्री थापाले न्यायालयको मानमर्यादामा कत्तिपनि विचलन आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“बरु म आफु पछि हट्छु तर न्यायपालिकाको मान मर्यादालाई पछि हट्ने स्थिती आउन दिन्न ।”, मन्त्री थापाको उद्घोष थियो । प्रक्रियासंगत काम गर्दा आफ्नो र अर्काको भन्ने नरहने स्पष्ट पार्दै न्यायाधिस नियुक्ति , सरुवा, बढुवाका विषयमा आफुले पारदर्शि र ईमान्दारीताका साथ काम गर्नेमा ढुक्क हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । विभिन्न विषयका विधेयक हरु संसदमा तत्काल पास गराउनपर्ने भएपनि निर्वाचनसम्बन्धि विधेयक र स्थानिय निकाय सम्बन्धि विधेयक लाई प्राथमिकताका साथ राखेको मन्त्री थापाले जानकारी दिनुभयो ।

महामानव विपि कोईरालाले आफ्नो प्रधानमन्त्रीकालमा न्यायधिसहरुको सेवा सुविधा र वृत्तिविकासमा चालेको कदमको स्मरण गर्दै मन्त्री थापाले आफुपनि विपिकै अनुयायी रहेको र न्यायधिसको सेवासुविधा र दक्षता अभिवृद्धिका लागि उल्लेख्य कदम चाल्ने आश्वासन दिनुभयो ।

भेलामा सहभागि वरीष्ठ अधिवक्ताहरुले मन्त्री थापालाई न्यायलायमा हुने विकृति र विसंगतिलाई चिरेर स्वतन्त्र न्यायपालिकाको गरीमा उचो बनाउन सुझाव दिनुभयो । डिएलएका केन्द्रिय उपाध्यक्ष कमलामोहन वाग्लेले न्यायपरीषदले गर्ने विभिन्न कार्यमा डिएलएका अभिवक्ताहरुसँगको परामर्श गरेर अघि बढ्न आग्रह गर्नुभयो । नेपाल बार एसोसिएसन उच्च अदालत पोखराका पूर्व अध्यक्षहरु रामचन्द्र त्रिपाठी, मुकुन्द अर्यालले संसदमा रहेका फौजदारी लगायत विभिन्न विधेयकलाई यथाशिघ्र निकास दिनुपर्नेमा जोड दिए ।बार एसोसिएसन उच्च अदालत पोखरखका अध्यक्ष दयाराम गौतमले साईबर अपराधका, वाणिज्य र बाल ईजलासलाई पोखरामा स्थापना गराउन मन्त्री थापाको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा एसोसिएसनका पूर्व अध्यक्ष जगन्नाथ ढकाल, प्रगतिशिल पेसागत कानुन व्यवसायीका अध्यक्ष शुकदेव गौतम,डिएलए कास्कीका उपाध्यक्ष माधव बाँस्तोला , सचिव नारायण कोईराला लगायतले बोल्नुभएको थियो । डिएलए कास्कीका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री थापालाई संस्थाका तर्फबाट सम्मान गरीएको थियो भने नयाँ सदस्यलाई स्वागत समेत गरीएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button