शव पुरिएको चौबीस घण्टा नबित्दै चिहानबाट गहना चोरी

पोखरा न्युज –

इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो ।

नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो । शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति मङ्गलसूत्र चोरी भएको स्थानीय बासिन्दा भुवन लिम्बूले जानकारी दिनुभयो ।

“चिहानमा धेरै गरगहना पुरिएको आशङ्कामा शव खनेको देखियो”, उहाँले भन्नुभयो, “कानमा लगाएको केही सुन छाडेर चोरले अन्य गहना पनि चोरी गरेर शव पुनः गाडेको भेटियो ।” चिहान खनेर सुन चोरी गर्ने व्यक्ति पत्ता लाग्न नसकेको र यो अत्यन्त घृणित कार्य भएको स्थानीय बासिन्दाको भनाइ छ । लिम्बू परम्परामा मानिसको मृत्यु भएपछि शवसँगै उसले लगाएका गरगहना र प्रयोग गरेका सामग्री चिहानमा पुर्ने प्रचलन छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button