श्रीमानले छाडेकी आमा छोरीको उपचारका लागि भौँतारिँदै

 

पोखरा न्युज –

छ महिनाकी काखे छोरीलाई च्यापेर दीपायल सिलगढी नगरपालिका–६, सिलगढीकी २४ वर्षीया लक्ष्मी नेपाली हिजोआज सदरमुकामका कार्यालयमा धाइरहेकी छन् ।

काखे छोरीको ढाडमाथि ठूलो फोका उठेको छ । उपचार गर्न उनीसँग पैसा छैन । उपचारका लागि कार्यालय–कार्यालयका दैलोमा पुगेर आँसु झार्दै उनी हार–गुहार गरिरहेकी छन् ।

नौ वर्षअघि १६ वर्षको उमेरमा उनको स्थानीय राजेन्द्र नेपालीसँग मागी विवाह भएको थियो । राजेन्द्र नेपाली सेनामा कार्यरत छन् । सानै उमेरमा विवाह भइसकेपछि अहिले उनीहरुका दुई छोरा र एक छोरी छन् । उनको जेठो छोरो नौ वर्षको भयो । कक्षा दुईमा पढ्छ । जुम्ल्याहा रुपमा एक छोरा र छोरी जन्मिएका छन् । तीनै जुम्ल्याहामध्येकी छोरीको असामान्य तरिकाबाट ढाड फुलेको हो । “छोरीको यो अवस्था छ । घरको स्थिति राम्रो छैन,” गहभरि आँसु झार्दै उनले भनिन्, “अब यसको उपचार गर्न पैसा नै छैन । यसैले यसरी हारगुहार गरिरहेकी छु ।”

उनका श्रीमान् केही समयदेखि बेखबर छन् । काठमाडौँको भैरवदल गणमा कार्यरत रहेको सुनेको उनले बताइन् । “श्रीमान्सँग सम्पर्क नै हुँदैन, हजुर । उहाँले मलाई छाडेर जानुभयो । सम्पर्कमै आउन चाहन्नन्,” उनले दुखेसो पोख्दै भनिन्, “अर्कै बिहे गरिसक्यो भन्ने सुनेकी छु ।”

केही समयअघि केही रकम जुटाएर उपचारका लागि छोरीलाई काठमाडौँको वीर अस्पताल पु¥याएको उनले बताइन् । त्यहाँ पुग्दा रु एक लाख ५० हजार र कान्तिबाल अस्पतालमा उपचार गर्दा रु दुई लाख ५० हजारभन्दा बढी खर्च लाग्ने बताएपछि बिना उपचार फर्किएको उनले बताइन् ।

काठमाडौँ पुग्दा श्रीमान् राजेन्द्र सम्पर्कमा आएको उनले बताइन् । उनले भनिन्, “भेट्नसम्म पुगे । बच्चाको यस्तो अवस्था देख्दादेख्दै फेरि बेपत्ता भए । अनि छोरीलाई त्यसै लिएर फर्किएँ ।” डाक्टरले बच्चाको समयमै शल्यक्रिया नभए टाउकोमा पनि त्यस्तै फोका उठ्न सक्ने चेतावनी दिएका छन् । “त्यसपछि भने ज्यान जोगाउन कठिन हुन्छ रे,” उनले थपिन् ।

छोरीको उपचारका लागि कुनै उपाय नलागेपछि उनले हार खाइसकेकी छन् । “श्रीमान्ले धोका दिए । घरमा सम्पत्ति छैन,” उनले रुँदै भनिन्, “मेरो यो अवस्था कसले हेरिदिन्छ रु अब छोरी बचाउन नसक्ने भएँ ।”

अहिले उनी माइतीकै शरणमा परेर जीविका चलाइरहेकी छन् । “माइती घरमा बसेर दुईछाक खान र बच्चालाई खुवाउन पाएकी छु,” उनले भनिन्, “आफ्नै त बस्ने ठेगान छैन । छोरीको उपचार कसरी गरुँ ?” माइतीको अवस्था पनि निकै नाजुक रहेको उनले बताइन् ।

छोरीको उपचार खर्च जुटाउन संघसंस्था र कार्यालय धाउँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले सहुलियतमा उपचार गराइदिन सिफारिशसम्म बनाइदिएका छन् । तर, त्यसले सबै समस्या भने समाधान हुनेछैन ।

“श्रीमान्ले नै माया मारे” सिलगढीकै स्थायी बासिन्दा राजेन्द्रसँग सानै उमेरमा विवाह हुँदा दुवै खुसी थिए । केही वर्षअघि राजेन्द्रले सेनामा भान्सामा खाना पकाउने काम पाए । त्यसै क्रममा उनीहरुको पहिलो सन्तानका रुपमा छोरो जन्मँदा दुवै खुसी रहेको लक्ष्मीले बताइन् ।

त्यसपछि धेरै लामो समयपछि जुम्ल्याहा सन्तानका रुपमा छोरा र छोरी जन्मेपछि भने श्रीमान् टाढिँदै गएको उनी बताउँछिन् । “एकाएक टाढिँदै गए । मैले केही बुझ्न सकिन,” उनले भनिन् ।

अहिले उनीसँग श्रीमान् राजेन्द्र पूरै सम्पर्कविहीन छन् । उनले अर्घाखाँचीको केटीसँग बिहे गरेको लक्ष्मीले सुनेकी छन् । त्यसै क्रममा श्रीमानले समेत रुपैयाँ जम्मा गर्न नसकेको र उल्टै सञ्चय कोषमा समेत रकम नरहेको सुनिएको उनले बताइन् ।

“श्रीमानले नै धोका दिए, कसको के लाग्छ र ?” दुखित मुद्रामा उनले भनिन्, “अहिले माइतीको आश्रयमा जीवन त बाँचिरहेकी छु । अरु त ठीकै थियो, छोरीलाई बचाउन नसक्ने भएँ ।” रासस
––––––––––

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button