बाढीले झापाका ६७० घरपरिवार जोखिममा, कनकाई नदीमा खतराको घण्टी बज्यो

पोखरा न्युज –

दुई दिनदेखिको अबिरल वर्षाका कारण झापाका करिब ६७० घरपरिवार जोखिममा परेका छन् ।

वर्षाले जिल्लाका विभिन्न नदी-खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पसेकाले ती घरपरिवारको बसोबास जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला विपद् व्यवस्थापन शाखाले जनाएको छ ।

गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीस्थित पिण्डाघुट्टामा कनकाई नदीकोे बाढी बस्तीमा पस्दा आज पाँच घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेहरुमा छमी हास्दा, सोम मर्डी, मंगल मुर्मु, मुन्सी मुर्मु र साइला मुर्मु छन् ।

उनीहरुमध्ये छमी हास्दाको घर बाढीले पूर्णरुपमा नष्ट गरेको छ । विस्थापित उनीहरुलाई स्थानीय आमगाछी आधारभूत विद्यालयमा राखिएको रेडक्रसका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

त्यस्तै, गौरिगञ्ज– १ साविक महारभारा– ९ मा कनकाई नदीमा आएको बाढीले जमिन कटान गर्दा करिब ६०० घरपरिवार जोखिममा परेका छन्, भने कमला र बनियानी नदीमा आएको बाढी गौरिगञ्ज– १ महाभारास्थित सुकुम्वासी बस्तीमा पस्दा २० परिवार विस्थापित भएका छन् ।

यता, मेचीनगर नगरपालिका– १५ स्थित सेडाइ बस्तीमा निन्दा खोलामा आएको बाढीले जमिन कटान गर्दा ४५ घरपरिवार जोखिममा परेका विपद् व्यवस्थापन शाखाका कर्मचारी अभिषेक पौडेलले जानकारी दिनुभयो ।

कनकाई नदीमा खतराको घण्टी

अबिरल वर्षाका कारण कनकाई नदीमा पानीको बहाव उच्च हुँदा खतराको घण्टी बजाइएको छ । आज बिहान कनकाई नदीमा पानीको बहाब ४ दशमवल १ पुगेपछि खतराको घण्टी बजाइएको हो ।

विपद् व्यवस्थापन शाखाका पौडेलकाअनुसार कनकाई नदीमा पानीको बहाव ३ दशमलव ७ भन्दामाथि हुँदा खतरा हुने सम्भावना हुन्छ । आज दिउँसो कनकाई नदीमा पानीको बहाव मापन गर्दा ३.५ पुगेको उहाँले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button