जयपृथ्वी राजमार्गमा यात्रु जोखिम मोल्न बाध्य

पोखरा न्युज –

बैतडीको खोड्पेसँग बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्गमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

भिर, साँघुरो सडक, अनि ठूल्ठूला सवारी साधन चल्ने जयपृथ्वी राजमार्गको बैतडी र बझाङका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको छ । यसका साथै धेरै ठाउँमा खोलामा पुल नहुँदा सडकमा माटो जम्मा भई भिरालो बन्न जान्छ र पहिरो गएको ठाउँको सडक हिलाम्ये बन्छ ।

जयपृथ्वी राजमार्गमा यात्रुहरु डर र त्रासमा यात्रा गर्न बाध्य छन् । सडक निकै नै डरलाग्दो रहेकाले डरैडरमा चैनपुरदेखि खोड्पेसम्म पुगेको पवित्रा राईले सुनाउनुभयो । उहाँले भन्नुभयो – “साघुँरा सडकमा ठूलो गाडीमा यात्रा गर्दा कतिखेर खोड्पे पुगौं जस्तो भइरह्यो । वर्षात्को समयमा त यात्रा निकै नै जोखिम हुने रहेछ ।”

पहिलोपटक जयपृथ्वी राजमार्गमा यात्रा गरेको बताउने पवित्राले सधैं यो सडकमा यात्रा गर्नेले त भगवान् भरोसामा हिड्नुपर्ने अनुभव सुनाउनुभयो ।

जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झौलेक, ज्यापु लगायतका ठाउँ र बझाङको जाल्याबगर, देउरा, देउलेक, रायल, बागथला र नारुगाडमा बेलाबेलामा खसिरहने पहिराले राजमार्ग अवरुद्घ हुने गरेको छ । यसले दुर्घटना निम्त्याउने जोखिम त छँदैछ ।

बझाङलाई राजधानी काठमाण्डौ, धनगढी, महेन्द्रनगर जोड्ने एकमात्र राजमार्ग भएकाले यो मार्ग अवरुद्घ हुँदा धेरैलाई समस्या हुने गरेको छ । “बर्खायाम भएकाले कतिखेर के हुन्छ थाहा छैन,” जयपृथ्वी राजमार्गमा गाडीमा सवार यात्रु मुना राईले भन्नुभयो – “भिरको बाटोमा बाहिर हेर्न न निकै डर लाग्छ । सडक निकै साँघुरो रहेछ । यात्रा अवधिभर छिटो गन्तव्य पुगे हुन्थ्यो जस्तो लागिरहन्छ ।”

पहिराका कारण असारदेखि अहिलेसम्म १२ पटक जयपृथ्वी राजमार्ग अवरुद्घ भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेलाबेलामा जाने पहिराका कारण यात्रु हैरानी बेहोर्न बाध्य भएका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

बेलाबेलामा पहिरो जाने भएकाले डिभिजन सडक कार्यालयसँग समन्वय गरी एउटा डोजर तयारी अवस्थामा राखिएको बताउँदै उहाँले भन्नुभयो – “सडकको अवस्था खतरापूर्ण छ । सडक माथिबाट ढुङगा खसिराख्छ ।”

माथिबाट पहिरो झरिरहँदा पनि जोखिम मोलेरै गाडी चलाउनुपर्ने बाध्यता रहेको चालकहरुले बताउँछन् । ना ५ ख २८३१ नं का बस चालक रघुवीर भण्डारीले भन्नुभयो – “कतिबेला पहिरो खस्छ भन्ने डरैडरले माथितिर हेरी गाडी चलाउनुुपर्छ । जोखिम मोलेर गाडी हाक्नुपर्छ । दुई टायर पड्किसके । सडकको अवस्था खतराजनक छ ।”

बैतडीको खोड्पेदेखि चैनपुरसम्मको जयपृथ्वी राजमार्गको कूल लम्बाइ १०८ किलोमिटर रहेको छ ।

पाल्पा घर भएर आठ वर्षदेखि जयपृथ्वी राजमार्गमा गाडी चलाइरहनुभएका ना ४ ख ५०७४ नं का ट्रक चालक कृष्ण थापाले पनि साँघुरो सडकमा सवारी हाँक्न निकै अप्ठेरो हुने गरेको अनुभव सुनाउनुभयो । ठूलो गाडीका लागि सडक साँघुरो भएकाले समस्या हुने गरेको र वर्षात्को समयमा त निकै कठिन हुने गरेको उहाँ बताउनुहुन्छ ।

कमजोर भौगर्भिक अवस्था र भिरालो भूबनौटका कारण जाने पहिरो तथा राजमार्गसँगै समानान्तर ढंगले निर्माण गरिएका विभिन्न शाखा सडकबाट बगेर आउने ढुंगामाटोले वर्षात्मा सडक बढी अवरुद्घ हुने गरेको डिभिजन सडक कार्यालयको भनाइ छ । शाखा सडकबाट बगेर आएको माटो र ढुंगा थुप्रिएर बढी जसो राजमार्ग बिग्रने गरेको कार्यालय प्रमुख ललितजंग खनालले बताउनुभयो । उहाँले भन्नुभयो – “शाखा सडकबाट बगेर आएको माटो थुप्रिएर प्रत्येक वर्ष बर्खामा राजमार्ग अवरुद्ध हुने गरेको छ ।”

चीनको तिब्बतसँग जोडिँदै गरेको सडक अन्तर्राष्ट्रिय सडक भनिएपनि राजमार्गको स्थिति भने कहालिलाग्दो छ ।

बैतडीको खोड्पेदेखि बझाङको चैनपुरसम्म १०८ किलोमिटर लम्बाइ रहेको यो सडकलाई विश्व बैंकको सहयोगमा ५ वर्षअघि कालोपत्र गरिएको थियो । कालोपत्र गरिएको अधिकांश ठाउँमा उप्किएर बाटो कच्चीजस्तै बनेका छन् ।

जयपृथ्वी राजमार्गलगायत सुदूरपश्चिमका दशरथचन्द राजमार्ग र महाकाली राजमार्गमा दुर्घटनाको बढ्दै गएकाले विश्व बैंकको करिव रु २० करोडको सहयोगमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार लगाइसकिएको निर्माण कार्यको ठेक्का पाएको गौरी पार्वती सूर्य जेभी कन्सट्रक्सनले जनाएको छ ।

दुर्घटना न्यून गर्न विसं २०७२ फागुनदेखि विश्व बैंकको सहयोगमा सडक विभाग वैदेशिक महाशाखा, सडक तथा ट्राफिक सुरक्षा योजनाअन्तर्गत बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको सतवाझ झुलाघाट सडकखण्ड र महाकाली राजमार्गअन्तर्गत बैतडीकै सतवाझदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने सडकखण्डमा स्टिलबार लगाइएको आइओडब्लुका सुपरभाइजिङ कन्सल्टेन्ट पंकज चन्दले जानकारी दिनुभयो ।

खोड्पेदेखि बझाङ सडकखण्डको दुर्घटना बढी हुनसक्ने ११.४५ किलोमिटर क्षेत्र, बैतडीको सतवाझ झुलाघाट सडकखण्डको बढी दुर्घटना हुनसक्ने ४.७९ किलोमिटर क्षेत्र र सतवाझ गोकुलेश्वर दार्चुला सडकखण्डको बढी दुर्घटना हुनसक्ने १०.३३ किलोमिटर क्षेत्रमा स्टिलबार लगाइएको छ ।

पहाडको बाटो त्यसैमा पनि ‘सिंगल लेन’ को साँघुरो बाटोमा बढी दुर्घटना हुने सम्भावना हुन्छ । आइओडब्लुका चन्दले भन्नुभयो – “स्टिलबार लगाइसकेपछि अब दुर्घटनामा कमी आउने छ । यात्रुहरुले पनि यात्रा गर्दा सुरक्षित महसुस गर्नेछन् ।”

पहाडी सडक, भिर, घुमाउरो अनि सिंगल लेन भएका यी सडकमा नयाँ तथा पहिलो पटक गाडी चलाउने चालक डराउने गर्छ । स्टिलबार लगाइसकेपछि भने त्यो समस्या धेरै हदसम्म हट्ने विश्वास गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button