मोरङमा बाढीले करिब दुई हजार परिवार विस्थापित

पोखरा न्युज –

निरन्तररुपमा गएरातिदेखि बर्षा जारी रहेको कारणले मोरङमा अन्दाजी दुई हजार घर डुवानमा परेको छ ।

बर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध भएको छ र विमानस्थलको सुरक्षागार्डको भवनमा समेत पानी पसेपछि कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।

विराटनगर महानगरपालिकाको १९ वटै वडाका अधिकांशको घरमा पानी पसेको छ । सोमध्ये, विराटनगरको ४, ५, ६, ११ र १२ नम्बरका वडा पूर्ण डुबानमा परेको र ती वडाबाट ६ सय परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

यसका साथै विराटनगरको नोबेल अस्पतालभित्र पानी पसेको छ र नेपाल आयल निगमको पर्खाल भत्किएको छ । विराटनगर–२ मा सिंग्याही खोलाको पानी दर्जनौँ घरमा पसेका छन् विराटनगरका मुख्य सडकका साथै सहायक सडक खोलाको रुपमा परिणत भएको छ ।
सुन्दरहरैचाको ४ र ६ वडामा पर्ने पुलको पश्चिमपट्टिको भागलाई गछिया खोलाले कटान गरेपछि केही बेर आवागमन ठप्प भए पनि यतिखेर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

यसका साथै बूढीगंगामा अन्दाजी ३५० घरपरिवार डुबानमा परेका छन् । बौंराहा टोलको १५० घर, मुडेरी टोलका १५० घर र दिपु टोलका ५० घर छन् । प्रहरीको टोली पीडितलाई उद्धार गरी सुरक्षित स्थानमा राख्ने कार्यमा जुटेका छन् ।

उर्लाबारी– ८ को माझीटोलमा बक्राहा नुनसरी खोलाले १५ घर र मिक्लाजुङको खाँबेझाडो गाउँको– ६ परिवारलाई डुबानमा पारेको छ, भने धनपालथानको ५,६ र ७ वडाका तीन सय परिवारको घर डुबानमा परेको छ ।
पीडित परिवारको उद्धार कार्यमा प्रहरी जुटेको छ ।

त्यसैगरी, रतुवामाई नगरपालिकाको ७, ८, ९ र ५ मा रतुवा र बक्राहा खोलाको पानी पसेपछि सात सय परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रहरी टोली यतिखेर जुटेका छन् । धनपालथान–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर १५० घर डुबानमा परेको र रंगेलीको आमतोलामा चार घर डुबानमा परेको छ, भने एकराही र जामुनगाछिको मानव बस्तीमासमेत पानी पसेको छ ।

यसैबीच, गएरातिदेखि विराटनगरमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । नेपाल टेलिकमको इन्टरनेटसेवा बिहान ९ः३० बजेदेखि सुचारु भएको भए पनि मोबाइल र टेलिफोनको एसटिडी सेवा सुचारु हुनसकेको छैन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button