पाल्पाका पन्ध्र प्रतिशत महिला अझै घरमै बच्चा जन्माउने

पोखरा न्युज –

पाल्पा जिल्लामा अझै पनि पन्ध्र प्रतिशत महिला घरमै बच्चा जन्माउने गरेको पाइएको छ ।

विशेषगरी जिल्लाको ग्रामीण भेगका पन्ध्र प्रतिशत महिला अन्धविश्वास, लाज र चेतनाको अभावका कारण घरमै बच्चा जन्माउने गरको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा ८५ प्रतिशत भन्दा बढी महिला स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने क्रम बढेपनि पनि ग्रामीण भेगमा अझैपनि प्रसब बेदन हुँदापनि पनि स्वास्थ्य संस्थामा लैजाने प्रवृत्ति कम भएको कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।

गाउँघरमा रहेका स्वास्थ्य संस्थामा सेवा सुविधा रहेपनि शिक्षाको कमीले गर्दा विकट ग्रामीण बस्तीका महिला घरमै बच्चा जन्माउने गरेकाले उनीहरुमा विभिन्न समस्या देखा परेको सम्बद्ध चिकित्सकले बताएका छन् ।

महिलालाई स्वास्थ्य संस्थामा नै बच्चा जन्माउनका लागि प्रोत्साहनस्वरुप सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चार पटकसम्म गर्भ परीक्षण गराएको रु चार सय रकम प्रदान गरिरहेको छ ।

पाल्पा जिल्ला अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० वटा स्वास्थ्य चौकी गरी जिल्लाभरीमा कूल २५ वटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको सो कार्यालयले जनाएको छ ।

यी स्वास्थ्य संस्थामा निःशुल्क सुत्केरी गराउने व्यवस्था रहेको छ । जिल्लाको मिसन अस्पताल तानसेनमा आमा सुरक्षा कार्यक्रम लागू नभए पनि त्यहाँ पनि सुरक्षित प्रसुति व्यवस्था छ ।

आर्थिक वर्ष ०७३÷७४ मा लुम्बिनी मेडिकल कलेजमा– दुई हजार ३५९, मिसन अस्पतालमा दुई हजार ९३, रामपुर अस्पतालमा २४१, मदनपोखरा स्वास्थ्य चौकीमा ११८, ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा ८८, छहरा प्राथमिक स्वास्थ्य चौकीमा ७३ र अन्य अस्पतालमा गरी पाँच हजार ३३७ जनाले स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माएका छन् ।

कार्यालयको तथ्यांकअनुसार ०७१÷७२ मा ६ हजार पाँच सय र ०७२÷७३ मा ६ हजार तीन सय महिलाले स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माएको पाइएको छ । छ महिना अगाडि रम्भा गाउँपालिका सिलुवा निवासी करिब १८ वर्षीय एक महिलाको सुत्केरी बेथाले अकालमै ज्यान गएको छ ।

उमेर नपुगिकन गर्भवती बन्नु, खानपानमा ध्यान नदिनु ,नियमित गर्भ परीक्षण नगराउनु, लामो समयसम्म सुत्केरी बेथा लाग्दा पनि घरमै राख्दा आमा र बच्चाको ज्यान खतरामा पर्नसक्ने हँुदा स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउन स्वास्थ्यकर्मीको सुझाव छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button