पोखरामा ‘सिग्नेचर’ फिल्म स्क्रिनिङ हुँदै

पोखरा न्युज –

आगामी भदौको १७ गते पोखरामा नेपाली फिल्म ‘सिग्नेचर’को बिशेष शो हुने भएको छ । ‘सिग्नेचर मुभि थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ अन्तरगत यो फिल्मलाई पोखरामा प्रदर्शन गर्न लागिएको हो । यो अभियानले स्वास्थ्य मन्त्रालयबाट ‘अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरिसकेको छ ।

सभ्य सिर्जनाको प्रस्तुतिमा हुने कार्यक्रमको आयोजना स्कूल फाउण्डेसनले गर्न लागेको हो । एएचएफको सहयोग,अर्किड केएर होमको मुख्य सहकार्यमा हुने फिल्मको ‘स्पेशल शो’मा एजुकेशन एण्ड माइग्रेसन कर्नर,युनीग्लोव विजनेस ग्रुप–एजुकेशन एण्ड भिजा,बाजेको सेकुवा कर्नर, ओस्कार कलेज अफ फिल्म स्टडिज र मितेरी सांस्कृतिक कला केन्द्रसँग कपिल पौडेलको सहकार्य रहेको छ ।

ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजका अध्यक्ष सागर उद्गम यो फिल्मका निर्देशक हुन् । यो फिल्मलाई उद्गमले गीतकार प्रकाश सुवेदीसँग मिलेर निर्माण गरेका हुन् । फिल्ममा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेविडिसी, सरिता गिरी लगाएतको अभिनय रहेको छ ।

‘परिवारको सहि निगरानीको अभाव र खराब संगतका कारण युवाहरु कसरी दुव्र्यसनमा फँस्छन र उनीहरुको जीवन कसरी क्षतविक्षत हुन्छ भन्ने विषयमा यो फिल्म बनेको छ ।’ निर्देशक उद्गम भन्छन्–‘फिल्मले सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिन्छ । त्यसैले हामीले यसलाई विश्वव्यापी अभियानको रुपमा अगाडि बढाएका हौँ ।’

यो फिल्मलाई पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीले सँयुक्त रुपमा खिचेका हुन् । निशान घिमिरे फिल्मका सम्पादन हुन् । भदौ १७ गते पोखरा सभागृहमा अभियान अन्तरगत यो फिल्मको स्क्रिनिङसँगै हस्ताक्षर संकलन अभियान र निशुल्क स्वास्थ्य सामग्री वितरण पनि गरिने आयोजकले बताएको छ ।

‘सिग्नेचर’ फिल्मको यो अभियानमा यूएनएडस, गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालयलगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटी, नेसनल सेन्टर फर एडस् एन्ड एसटीडी कन्ट्रोल लगाएतका संस्थाले सहकार्य गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button