अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु

पोखरा न्युज –

आर्थिक अभाव भएर भारतमा गई पैसा कमाएर पढ्ने धोको पूरा गर्ने योजनाका साथ सिरमौर राजगढ गएका यहाँका एक युवकको मृत्यु भएको छ ।

जुनीचाँदे गाउँपालिका– १ काप्राका २१ वर्षीय गोपाल रावतको मृत्यु भएको हो । रावतको भारतको उत्तर प्रदेशको सिरमौर राजगढ भुइँरा लिंक सडक खण्डमा दुर्घटनामा परी मृत्यु भएको मृतकका आफन्त कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । रावत गत साउन ६ गते मजदुरीको सिलसिलामा भारतको उत्तर प्रदेशको सिरमौर राजगढ गएका थिए ।

मृतक रावत जुनीचाँदे गाउँपालिका– ४ लुहादहमा रहेको आदर्श उच्च माविमा कक्षा १२ मा अध्ययन गरिरहेका थिए । रावतको मृत्युले परिवारमा सन्नाटा छाउनुका साथै आशाको केन्द्र छोराको मृत्युले आमा, बुबामा निराशा पैदा भएको छ । यहाँका अधिकांश युवा आर्थिक अभाव भएपछि भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरेर पैसा कमाएर पढ्ने र घर खर्च चलाउने गर्दछन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button