हात्ती नियन्त्रणका लागि आठ करोड

पोखरा न्युज –

जंगली हात्ती नियन्त्रणका लागि रु पहिलो चौमासिकका लागि दुई करोड बजेट निकासा भएको छ ।

राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि उक्त रकम निकासा भएको जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज सुवेदीले जानकारी दिनुभयो । हात्ती नियन्त्रणका लागि व्यवस्थित योजनासहित रु १३ करोड माग गरिए पनि रु आठ करोड आठ लाख ९० हजार स्वीकृत भएको वन अधिकृत सुवेदीले बताउनुभयो ।

जलथल, भद्रपुर, केचना, हल्दिबारी, मेचीनगरलगायत स्थानमा जंगली हात्तीले दुःख दिन थालेपछि नेपाली काँग्रेस ३ नं क्षेत्रीय समितिले सांसद कृष्णप्रसाद सिटौलामार्फत वन तथा भूसंरक्षण मन्त्रालयमा ज्ञापनपत्र पठाएको थियो । ज्ञापनपछि जिल्ला वन कार्यालयले योजनासहित बजेट माग गरेको र योजना स्वीकृत भएर पहिलो चौमासिकको रकम निकासा भएको हो ।

हात्ती नियन्त्रणका लागि जलथलदेखि बाहुनडाँगीसम्म जैविक मार्ग निर्माण तथा जलथल, चारआली र घेराबारीको जंगलमा करिब ८० किमी लामो विद्युतीय तारबार निर्माण गरिने भएको वन अधिकृत सुवेदीले जानकारी दिनुभयो । जलथल जंगल वरिपरि ५० किमी, चारआली जंगलको २० किमी र घेराबारीको १० किमी जंगल क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिने भएको छ ।

यहाँ शुक्रबार आयोजित पत्रकार भेटघाटमा काँग्रेसका नेता सांसद सिटौलाले झापाको हात्ती समस्या समाधानका लागि आएको बजेटको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले बजेटबाट जैविक मार्ग निर्माण तथा पर्यापर्यटन र कृषि पर्यटनको अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो । नेता सिटौलाले हात्तीपीडितले पाउने क्षतिपूर्ति झन्झटिलो भएकाले छिटो र छोटो प्रक्रियाबाट व्यवस्था गर्न आग्रह गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button