भालु नियन्त्रणका लागि जनप्रतिनिधिलाई गुहार

पोखरा न्युज –

लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ ।

यसबेला जिल्लाको विभिन्न वडा कार्यालयमा भालुलगायत जंगली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको चाङ लाग्न थालेको छ । सोलु दूधकुण्ड नगरपालिका–३ मा भालु नियन्त्रण गरिपाउँ भन्दै झण्डै दुई दर्जन निवेदन दर्ता गरिएका छन् ।

वडा सदस्य धर्मबहादुर तामाङकाअनुसार स्थानीय २२ जना कृषकले यस्तो निवेदन दर्ता गराएका हुन् । कृषकको मकैबाली भालुले नष्ट गरेपछि कृषकले निवेदन दिएका हुन् । यस्तै वडा नम्बर– १० का वडाध्यक्ष मिङमार छिरी शेर्पा पनि भालु नियन्त्रणका लागि दर्जन बढी निवेदन आएका बताउनुभयो । त्यहाँ पनि मकै तथा स्याउमा भालुले क्षति पु¥याएपछि कृषकले निवेदन दिएका हुन् ।

सोलु दूधकुण्ड नगरपालिकाका विभिन्न बस्तीसँगै अन्य गाउँपालिकामा पनि भालु तथा बाँदर नियन्त्रण गरिपाउँ भनि कृषकले निवेदन दिने गरेका छन् । यसअघि जंगली जनावरले बालीनाली नष्ट गरेपनि चुपचाप बस्ने गरेका कृषक जनप्रतिनिधि आएपछि नियन्त्रण तथा क्षतिपूर्तिको मागसहित निवेदन दिने गरेका छन् ।

जंगली जनावरबाट मानिस घाइते तथा मानिस वा घरपालुवा जनावरको ज्यान गएमा जिल्ला वन कार्यालयमार्फत राहत तथा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बालीनालीमा यस्तो व्यवस्था गरिएको छैन । अहिले अधिकांश कृषकले कि वन्यजन्तु नियन्त्रण गर्नुपर्ने वा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

यता मकै तथा स्याउ पाक्न थालेपछि कृषक रातभर ढ्याङ्ग्रो बजाएर बारिमै बस्न थालेका छन् । रातको समयमा एकैछिन मात्र सुनसान भएमा पनि भालुले बाली सखाप पार्ने भएकोले रातभर नसुतिकन बाली कुर्नुपरेको तामाखानीका कृषक मेन्दोमाला तामाङले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button