सञ्चारमन्त्री बस्नेतद्वारा मातहतका कार्यालयहरुको छड्के निरीक्षण

पोखरा न्युज –

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज मातहतका कार्यालयहरुको छड्के निरीक्षण गर्नुभयो ।

मन्त्री बस्नेत गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय पुग्नुहुँदा कार्यालय प्रमुखका साथै अन्य कर्मचारी कार्यालय समयमा उपस्थित भएको देखिएन ।

उहाँ बिहान १०ः२० गोरखापत्र संस्थानको कार्यालय पुग्नुभएको थियो । त्यहाँ संस्थानका अध्यक्ष र निमित्त महाप्रबन्धक उपस्थित हुनुहुन्नथ्यो ।

मन्त्री बस्नेतले आवश्यक कारबाहीका लागि भनेर संस्थानका सबै हाजिरी पुस्तिका आफैसँग मन्त्रालय लिएर जानुभएको थियो ।

आजै मन्त्री बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको कमलादीस्थित कार्यालयको पनि छड्के निरीक्षण गर्नुभयो । मन्त्री बस्नेत बिहान १०ः४५ बजे प्राधिकरणको कार्यालय पुग्नुहुँदा अध्यक्ष कार्यालयमा भेटिनुभएन भने सो कार्यालयका जम्मा ५८ कर्मचारीमध्ये ४३ जना मात्रै उपस्थित भएको पाइयो ।

मन्त्री बस्नेतले कर्मचारी कार्यालयमा आइसक्नुपर्ने समयभित्र पनि सबै कर्मचारी आइनपुगेको देखेपछि प्राधिकरण कार्यालयको विद्युतीय हाजिरी मेसिनमा टेप टाँसेर तत्काल हाजिरी रोक्न निर्देशन दिनुभयो । त्यहाँको हाजिरी विवरण पनि उहाँले आफूसँगै लिएर जानुभयो ।

छड्के निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले आफूले मातहतका कार्यालयमा कर्मचारी समयमा नआउने र जनताका काममा ढिलासुस्ती हुने गरेको गुनासाका आधारमा सत्यतथ्य पत्ता लगाउन निरीक्षणमा निक्लेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समयमा कार्यालय नआउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कानुनी व्यवस्थाअनुसार आवश्यक कारबाही हुन्छ ।” मातहतका कार्यालयमा कार्यरत जनशक्तिलाई भविष्यमा राम्रो नतिजा निकाल्ने गरी कार्यसम्पादन गर्न लगाउने उद्देश्यले निरीक्षण थालिएको उहाँको भनाइ थियो ।

मन्त्री बस्नेतले गर्नुभएको छड्के निरीक्षण शासकीय सुधार र पारदर्शिताका लागि महत्वपूर्ण कार्य भएको मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालय समयमा कर्मचारी आइनपुग्नु भनेको जनताका काम ढिला गर्नु हो, समयमा कार्यालय नआउनु भनेको अनुशासन बाहिरको विषय हो, त्यस्ता कर्मचारीमाथि विभागीय कारबाही हुन्छ ।”

सचिव गुरुङले निरीक्षण÷अनुगमन मन्त्रालयको नियमित काम भएको र यस्तो अभियानले कर्मचारीको कार्यसम्पादन शैलीमा परिवर्तन ल्याउन ठूलो मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button