Pokhara News

बँदेलले मकै नष्ट गरिदिँदा कृषक चिन्तित

पोखरा न्युज –

डडेल्धुरामा जंगली बँदेलले अन्नबाली खान थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रको जंगलमा बँदेलको संख्यामा वृद्धि भएसँगै स्थानीय बासिन्दाले लगाएको अन्नबालीमा क्षति गर्न थालेको छ ।

जिल्लाको अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका लगायतका गाउँपालिकाका विभिन्न गाउँमा लगाइएको अन्नबाली खाएर जंगली बँदेलले क्षति गर्न थालेको छ । बर्सेनि अन्नबाली बँदेलले नष्ट गर्दा बजारबाट चर्को मूल्यमा अनाज खरिद गर्नुपर्ने बाध्यता रहेको अजयमेरु गाउँपालिका– १ का लक्ष्मी भण्डारीले बताउनुभयो ।

बँदेलले मकै, भटमास, कोदोलगाएत तरकारी बाली खाएर क्षति गर्ने गरेको छ भने धानबालीलाई पनि नष्ट गर्न थालेकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ग्रामीण क्षेत्रका जनताको मुख्य पेशा र जीविकोपार्जनको आधार बनेको खेती नै बँदेल तथा बाँदरले काम नलाग्ने गरी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मुख्यबालीका रुपमा वर्षामा मकै लगाउने भए पनि बँदेलले लगाएको सम्पूर्ण मकै नष्ट गरिदिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको जीत पार्कीले दुखेसो पोख्नुभयो ।

बाँदर र बँदेलले बालीनालीमा क्षति पुरयाएपछि किसान क्षतिपूर्तिको माग गर्दै जिल्ला कृषि विकास कार्यालयमा आउन थालेका छन् । क्षतिपूर्तिको माग गर्दै हालसम्म १०० निवेदन आएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । क्षतिको प्रकृति हेरेर बढीमा रु १० हजारसम्म क्षतिपूर्ति दिइने जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

केही वर्षदेखि जंगली बँदेलको चोरी सिकारी गर्नेको संख्यामा कमी र सामुदायिक वनको विकाससँगै बँदेलको संख्यामा वृद्धि भएको छ । जसका कारण खाना खोज्दै जंगली बँदेल खेतबारीमा आउने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । रासस

अन्य खबर

पर्वतका जङ्गलमा भविष्य खोज्दै पूर्व लाहुरे

रासस

गण्डकी प्रदेशमा एक गाउँपालिका एक कृषि फार्म

रासस

प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

रासस
खुल्दैछ.......