एशियन बडी बिल्डिङ प्रतियोगिताको कास्य पदक विजेता कमललाई पोखरामा सम्मान

पोखरा न्युज –

५१ औं संस्करणको एशियन बडी बिल्डिङ प्रतियोगिताका कास्य पदक बिजेता कमल भण्डारीलाई सोमबार पोखरामा स्वागत एवम् सम्मान गरिएको छ। कास्की जिल्ला शारिरीक सुगठन संघको आयोजनामा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद समितिका अध्यक्ष खगराज पौडेल, संघका अध्यक्ष शंकरमान उदास लगायत पदाधिकारी, सदस्य र खेलाडीहरुले भण्डारीलाई स्वागत एवम् सम्मान गरेको हो।

पोखरा विमानस्थलमा कमलको स्वागतपछि उनको सम्मानमा रङ्गशालासम्म बिजयी रयाली निकालिएको थियो। रङ्गशालामा आयोजित कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष पौडेलले महादेशस्तरिय खेलमा कमलले जितेको पदकले पश्चिमाञ्चल क्षेत्रको शिर उँचो भएको बताए।

उनले अबको ३५ दिनपछि कम्बोडियामा हुने विश्व च्याम्पियन प्रतियोगितामा कमललाई सहभागिता गराउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धाता जनाए। उनले भने, अफिसियल, साउथ एशियन, एशियन र विश्व च्याम्पियनशिपका खेलहरुमा कमललाई देख्न आफू लालयित भएको बताए।

पौडेलले पोखरा रङ्गशालाभित्र बडी बिल्डिङको पूर्वाधार संरचनाका लागि आबश्यक जग्गा छुट्याइने प्रतिबद्धता जनाए। ‘जुन पूर्वाधार निर्माणले पोखराका बडी बिल्डरहरुलाई पदक जित्नका लागि प्रशिक्षण र उपयुक्त वातावरण मिल्नेछ,’– पौडेलले भने। पदक बिजेता कमलले आफूले जितेको पदक आफ्नोमात्र सफलता नभई समग्र देशकै लागि भएको बताए। उनले प्रशिक्षक र घरपरिवारको प्रोत्साहनले सफलता मिलेको प्रष्ट पारे। ‘पदक जित्न सजिलो छैन,’ उनले भने, ‘सोंचेभन्दा हजारौं गुणा गाह्रो छ।’ अब आउने बडी बिल्डिङको बिश्व च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्न ईच्छुक रहेको उनले बताए।

संघका अध्यक्ष शंकरमान उदासले कमलको खेलप्रतिको लगनशिलता र अनुशासनले पदक जित्न सफल भएको बताए। कमल बडी बिल्डिङका लागि देशकै प्रतिभावान खेलाडी रहेको चर्चा गरे।  कार्यक्रममा कमलका पिता दुर्गादत्त भण्डारीले आम युवा बर्गहरुले खेलकुदको माध्यमलाई अपनाउनुपर्ने कुरामा जोड दिए। उनले खेलकुदको माध्यमबाट नै युवाहरु स्वस्थ रहने बताए।

अन्तराष्ट्रिय प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएका कमलले ५५ केजी तौल समूहमा कास्य पदक जितेका हुन्। एशियाको दक्षिण कोरिया, इरान, मङ्गोलिया, भारत, माल्दिभ्स लगायतको ९ देशको सहभागिता रहेको बडी बिल्डिङ प्रतियोगितामा   माल्दिभ्सले स्वर्ण र मङ्गोलियाले रजत पदक जितेको कमलले बताए।

०६१ देखि कमलले पोखराको रत्नश्री जिमबाट आफ्नो करियर शुरु गरेका हुन्। यसअघि नेपालमा आयोजित बिभिन्न २० वटा बडी बिल्डिङका प्रतियोगिताहरुमा आफूले सहभागिता जनाएको उनले बताए। ०७३ सालमा आयोजित मिष्टर बुल्समेन, मिष्टर हिमालयन, मिष्टर पोखरा र मिष्टर माछापुच्छ«े प्रतियोगितामा कमलले स्वर्ण पदक जितेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button