पाल्पाका मुस्लिम महिला सामाजिक क्षेत्रमा सक्रिय बन्दै

पोखरा न्युज –

जातीय परम्परा र मान्यताअनुसार बुर्काभित्र मात्र सीमित अल्पसंख्यक मुसलमान समुदायका महिला समुदायभन्दा बाहिर निस्कन थालेका छन् ।

आफ्नो जात, धर्म र संस्कारमा मात्र सीमित रहनुपर्ने धार्मिक मान्यता रहेको मुस्लिम समुदायका महिलामा चेतना र शिक्षाको विकासले उनीहरु हिजोआज समुदायभन्दा बाहिर निस्कन थालेका हुन् ।

जातीय परम्परा र संस्कारअनुसार परपुरुषसँग नजर देखाउन नहुने मान्यताका कारण बुर्काभित्र सीमित रहने परम्परा रहेपनि रामपुरको इस्लामपुर क्षेत्रका महिला भने समुदायभन्दा बाहिरका विभिन्न सामाजिक क्रियाकलापमा सरिक हुने गर्दछन् ।

जात, धर्म, संस्कारभित्र रहेर सामाजिक संघ संस्था, पत्रकारिता, विकास निर्माण र राजनीतिक क्षेत्रमा क्रियाशील हुँदा आफ्नो जातीय पहिचान नगुम्ने विश्वासका कारण र बढ्दो आधुनिकता, शिक्षाको विकासले गर्दा मुस्लिम महिला सामाजिक बन्धनले बाँधिएको घेराभन्दा बाहिर आएका हुन् ।

मुस्लिम समुदायकी एक अगुवा महिला हलिमा खातुन सामाजिक, पत्रकारिता र राजनीतिक क्षेत्रमा काम गर्दै आउनुभएको छ । पत्रकारिताका लागि मुस्लिम समुदायभन्दा बाहिर निस्केपछि उहाँको जीवनमा पत्रकारिताले धेरै परिवर्तन ल्याइदियो ।

विसं २०६५ देखि पत्रकारिता शुरुवात गर्नुभएकी खातुन पाल्पामै पहिलो मुस्लिम समुदायको महिला पत्रकार हुनुहुन्छ । रेडियो, विभिन्न पत्रपत्रिकामा काम गर्दै पछिल्लो समय पत्रकारिताभन्दा बढी सामाजिक, विकास निर्माण, विभिन्न संघ संस्था र राजनीतिक क्षेत्रमा सक्रियरुपमा लाग्नुभएको छ ।

मुस्लिम समुदायमा जन्म लिए पनि महिला सधैँ दबिएर बस्नुपर्ने मान्यता तोड्दै समाजका विभिन्न कार्यमा उहाँ सक्रिय रुपमा काम गर्दै आउनुभएको छ । खातुनलाई मुस्लिम, हिन्दू जुनसुकै धर्म, समुदायको होस् समाजको विकास निर्माणदेखि विभिन्न क्षेत्रमा काम गर्नमा निकै खुशी लागेको छ ।

उहाँ भन्नुहुन्छ, “सदियौँदेखि मुस्लिम समुदायका महिला घरभित्रै सीमित रहेको र बाहिर निस्किए त बिग्रिहाल्छन् भन्ने गलत सोचाइले समाजमा दबिएर बस्न बाध्य भएका छन् ।” “परिवर्तन अरुबाट होइन आफैँबाट गर्नुपर्छ, घरपरिवारमा भन्दा पनि म धैरै समय सामाजिक क्षेत्रमा केन्द्रित हुन्छु”, उहाँले भन्नुभयो ।

समुदायको मूल्य मान्यतालाई अनुशरण गर्दै सही बाटोमा घरबाट बाहिर निस्केर सामाजिक क्षेत्रमा काम गर्ने महिलालाई कुनै समुदाय, पुरुषले दबाउन नहुने खातुनको धारणा छ । महिलालाई श्रीमान् र परिवारका सदस्यबाहेक अन्य व्यक्तिसँग टाढा राखेर दबाउन खोजिएको र त्यसबाट उन्मुक्तिका निम्ति समुदायको अनुशासन, आचरण र मूल्य मान्यतामा रहेर महिला आफैँ सक्रियरुपमा विकास निर्माण सामाजिक क्षेत्रमा अग्रसर हुन थालेको खातुनको भनाइ छ ।

उहाँलाई परिवारबाट कुनै पनि दबाब नआएको र विस्तारै उहाँसँगै यहाँका अन्य महिला पनि सोही क्षेत्रमा सक्रिय भएर लागेको बताउनुभयो ।

अर्की मुसलमान महिला तस्लिमा खातुनलाई सामाजिक क्षेत्रमा निस्कन घरपरिवारको राम्रो साथ मिलेको छ । परिवारमा उहाँलाई म मुस्लिम समुदायको महिला हुँ भन्ने फरक सोचाइ नभएको अनुभव सुनाउनुुभयो ।

उहाँ भन्नुहुन्छ, “श्रीमान्को सहयोगले नै म सामाजिक क्षेत्रमा लागेकी हँु”– “बिहान, साँझ घरायसी काम सकेर दिउँसोको समय सामाजिक गतिविधिमा बित्ने गरेको छ” उहाँले भन्नुभयो । उहाँ विभिन्न महिला समूह, आमा समूह, नेपाल विद्यार्थी संघको सदस्यमा रहेर काम गर्दै आउनुभएको छ ।

महिला घरबाट बाहिर निस्कँदैमा नराम्रो सोच्नु गलत भएको बताउँदै अवसर पाएको खण्डमा पुरुषसरह हरेक क्षेत्रमा रहेर काम गर्न सक्ने उहाँको अनुभव छ ।

चेतना र शिक्षाको विकास बढ्दै जानु, महिलाले पनि अवसर पाए पुरुषसरह नै काम गर्न सक्छन् भन्ने मान्यता यस समुदायका महिलामा पनि रहेको छ ।

रामपुर क्षेत्रका मुस्लिम समुदायका महिलालाई सामाजिक, शैक्षिकलगायतका क्षेत्रमा निस्कन कुनै दबाब नरहेको हमिद अलिमियाँले बताउनुभयो । “पहिले पहिले महिला घरभित्र मात्र सीमित रहेको पाइन्थ्यो भने अहिले त सामाजिक विकास निर्माणको क्षेत्रमा महिला नै अगाडि रहेका छन्” उहाँले भन्नुभयो ।

घरपरिवार र श्रीमान्बाट राम्रो साथ र सहयोग पाएपछि उनीहरु समुदायका हरेक काममा सक्रिय बन्दै गएका छन् । यस समुदायका महिला शिक्षा, रोजगारीलगायतका क्षेत्रमा पनि अगाडि नै रहेका छन् । रासस
––––––––––

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button